गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा विभिन्न अपराधसम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न दुई सय तीन जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
बाँके प्रहरीका अनुसार गत कात्तिक महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता गरेको हो भने विभिन्न मुद्दामा संलग्न दुई सय तीन जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।
त्यसैगरी १२ वर्ष ५ महिना २० दिन कैद सजाय तोकिएका ४८ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट पाँच लाख २० हजार एक सय ६८ रुपियाँ जरिवाना असुल गरिएको छ । यसै समयअवधिमा ४० वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय १५ वटा ठाडो उजुरी दर्ता भएकोमा चार सय उजुरी फर्छ्यौट गरिएका र १५ वटा उजुरी फर्छ्यौट प्रक्रियामा छ ।
उक्त महिनामा हराएका दुई थान मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, हराएका १० थान आइफोन र एन्ड्रोइड मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, विषादी सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार विरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नाइट्राजेपाम २०८ ट्याब्लेटसहित ओसारप्रसारमा संलग्न २४ जनालाई कानुनी दायरामा ल्याइएको छ ।
प्रहरीका अनुसार ट्राफिक कारवाहीतर्फ दुई हजार ७ सय ८२ वटा सवारी साधनलाई कारवाही गरी २४ लाख ३१ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाएर तीस हजार रुपियाँ जरिबाना गराइएको छ । २० लाख ७५ हजार ६५० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान र ढुवानीमा प्रयोग भएको एउटा कारसमेत बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान-कारबाहीतर्फ १० वटा मुद्दा दर्ता भएकोमा संलग्न ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार घरेलु हिंसासम्बन्धी ४६ वटा उजुरी दर्ता भएकोमा ३० वटा उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरिएको र बाँकी अनुसन्धानका क्रममा छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका सम्बन्धमा २३ वटा निवेदन दर्ता भएको र नौ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
समुदाय प्रहरी सहकार्यतर्फ लागूऔषधसम्बन्धी चार वटा सचेतना, आत्महत्यासम्बन्धी आठ वटा, चोरीसम्बन्धी नौ वटा, अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम दुई वटा, नागरिक सुनुवाई दुई वटा लगायतका ४८ वटा सचेतनामूलक कार्यक्रमहरु गरिएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित २२८ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ ।
आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत ‘बेष्ट पुलिस युनिट अफ द मन्थ’ कात्तिक महिनाको उत्कृष्ट प्रहरी इकाई इलाका प्रहरी कार्यालय बैजापुरलाई प्रदान गरिएको छ । चाडपर्व चेकजाँच सुरक्षा योजना बमोजिम तालिम प्राप्त कुकुरहरुद्वारा बसपार्क, विमानस्थल र जमुनाहा नाकामा समय समयमा चेकजाँच गरिनुका साथै पैदल गस्ती गरिएको तथा आचरण विपरीत कार्य गर्ने तीन जना प्रहरी कर्मचारीलाई तीन पुस्तेमा जनिने गरी कारबाही गरिएको बाँके प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।