• ११ पुस २०८१, बिहिबार

भूकम्प प्रभावित विद्यालयलाई सहयोग

blog

बालमैत्री स्थल निर्माणका लागि सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर ५ गते । रुकुमपश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयमा बालमैत्री स्थल व्यवस्थापनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले जिल्लाका विभिन्न छ वटा विद्यालयमा बालमैत्री स्थल व्यवस्थापनका लागि शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको हो । 

रेडक्रसद्वारा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत भूकम्पबाट बढी प्रभावित भएका विद्यालयमा सामग्री हस्तान्तरण गरिएको हो । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्रीको माध्यमबाट मनोसामाजिक रूपमा स्वस्थ राख्नका लागि विभिन्न शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको हो । 

उहाँका अनुसार त्रिवेणी गाउँपालिकामा रहेको जनहित आधारभूत विद्यालय चौतारा, हिमालय जनता माध्यमिक विद्यालय नुवाकोट र बालकल्याण माध्यमिक विद्यालय टोड्केमा बालमैत्री स्थल निर्माणका लागि शैक्षिक सामग्री तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । त्यसै गरी सानीभेरी गाउँपालिकाको नवचन्द्र ज्योति आधारभूत विद्यालय, सानीभेरी माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय चाख्ली मेलामा पनि उक्त सामग्री उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । प्रतिविद्यालय वाद्यवादन, खेलकुद, पठनपाठनलगायतका विभिन्न ४७ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । रेडक्रसको एक टोली विद्यालयमै पुगेर सामान हस्तान्तरण गरेको हो । 

यसै गरी रेडक्रस रुकुमपश्चिम शाखाले अपाङ्गता भएका १२ जना व्यक्तिलाई सहायता सामग्री पनि उपलब्ध गराएको छ । त्रिवेणी गाउँपालिका–९ का चार जना र सानीभेरी गाउँपालिका–४ का आठ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाका सभापति रमा गौतमले अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहसँग समन्वय गरेर ह्विलचेयर, बैसाखी, कम्बोट, छडीलगायतका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।