तानसेन समाचारदाता
तानसेन, मङ्सिर ५ गते । पाल्पामा सञ्चालित चार वटा चुनढुङ्गा खानीले राष्ट्रिय वन अतिक्रमण गरेर अवैध चुनढुङ्गा उत्खनन गरेका छन् । जिल्लाको माथागढी–५ मा रहेको बिएस सिमेन्ट प्रालि, वडा नं. ७ मा रहेको पाल्पा सिमेन्ट प्रालिले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी अवैध चुनढुङ्गा निकासी गरेका हुन् । तिनाउ गाउँपालिका–३ स्थित कन्चन क्वारिज प्रालि र तिनाउमै सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिले पनि राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर अवैध चुनढुङ्गा र वन पैदावर निकासी गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बिएस सिमेन्ट प्रालिले स्वीकृति पाएको क्षेत्रभन्दा ९.६४ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको बताउनुभयो । उसले वन क्षेत्र अतिक्रमण गरी खानीजन्य पदार्थ निकासी गरेको, वन क्षेत्रको रुखबिरुवा नष्ट गरेको उहाँले बताउनुभयो । यस्तै पाल्पा सिमेन्ट प्रालिले चुनढुङ्गा उत्खननका लागि पाएको स्वीकृतिभन्दा बढी ३.०२ हेक्टर क्षेत्रफल अतिक्रमण गरेर खानीजन्य पदार्थ निकासी गरेको छ ।
यस्तै सिद्धार्थ मिनिरल्स प्रालिले सात हेक्टर वन क्षेत्र अतिक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय पाल्पाले विज्ञसहितको छानबिन तथा अनुगमन समिति बनाएको थियो । सोही समितिले कन्चन क्वारिजले ४.४ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको थियो ।
छ करोड एक लाख बिगो मागदाबी
डिभिजन वन कार्यालय पाल्पाले राष्ट्रिय वन क्षेत्रमा प्रवेश गरी अवैध उत्खनन गर्ने चार वटै कम्पनीलाई जिल्ला अदालत पाल्पामा मुद्दा दायर गरेको छ । कार्यालयले छ करोड एक लाख ९८ हजार रुपियाँ बिगो मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो । कार्यालयले चार कम्पनी र १७ जना उद्योगी र खानी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । वन कार्यालयले खानी कम्पनी र सञ्चालकहरूले वन ऐन, २०७६ अनुसार कसुर गरेको देखिएकाले कारबाही माग गरेको थियो ।
सञ्चालक धरौटीमा रिहा
जिल्ला अदालत पाल्पाले भने तीन वटा मुद्दाका प्रतिवादीलाई थुनछेक बहसपछि धरौटीमा रिहा गरेको छ । उद्योगका सञ्चालक रहेका १३ जना प्रतिवादीलाई अदालतले धरौटीमा छाडेको छ । पाल्पा सिमेन्ट प्रालिलाई पाँच लाख, सञ्चालक श्रवणकुमार अग्रवाल, राजेशकुमार अग्रवाल, विष्णुकुमार अग्रवाल र विनोदकुमार श्रेष्ठलाई पाँच/पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको हो ।
कन्चन क्वारिज र त्यसका सञ्चालक भीमबहादुर थापा, रतनकुमार गोयल, आकाशकुमार अग्रवाल र महावीरप्रसाद गोयललाई जनही पाँच/पाँच लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ । अर्का सञ्चालक गोपालप्रसाद भट्टराईलाई भने १५ लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ ।
अवैध रूपमा सबैभन्दा बढी वन क्षेत्र उत्खनन गरेको बिएस सिमेन्ट प्रालिसहित सञ्चालक मनोजकुमार कोडिया, सरिता कोडिया, जगदीश अग्रवाललाई प्रतिव्यक्ति १५/१५ लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ । यस्तै राजेशकुमार अग्रवाललाई भने १० लाख रुपियाँ धरौटीमा रिहा गरिएको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो ।
यस्तै सिद्धार्थ मिनिरल्स प्रालिको अदालतको फरार सूचीमा रहेको छ । प्रालिका सञ्चालक पशुपति मुरारकालाई चार लाख धरौटीमा रिहा गरिएको छ । सञ्चालक जगदीश अग्रवाल, विनोदकुमार श्रेष्ठ, राजेशकुमार अग्रवाल र मनोजकुमार कोडियाको भने अदालतमा बयान भइरहेको स्रेस्तेदार पराजुलीले बताउनुभयो । खानी सञ्चालकले अवैध उत्खनन क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि प्रक्रिया अगाडि बढाएको बताउँदै आएका छन् ।