• १२ पुस २०८१, शुक्रबार

नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्दै

blog

साइकल यात्राबारे जानकारी गराउँदै आयोजक । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, मङ्सिर ४ गते । राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने भएको छ ।

नेपालगन्जको राँझास्थित श्री नं. ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘‘बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु । विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएकोले यसको प्रवर्द्धनको लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेका हौँ।’’

उहाँले कान्छो निकुञ्जका रूपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रूपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गर्नुभयो । 

बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरूको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उहाँको भनाई थियो ।

निकुञ्जलाई पर्यटन प्रवर्द्धनमा अगाडि बढाउन निकुञ्जसँग जोडिएकै कोहलपुर र नेपालगञ्जमा सुविधासम्पन्न होटल छन् । निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत छ । 

प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवर्द्धन गरी संसारभर पुर्‍याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरेको गुरुङले बताउनुभयो । 

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवर्द्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिनुभयो । 

साइकल यात्रा ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ । 

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार ५० जना जति बाँके साइकल सङ्घमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताउनुभयो ।

‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल सङ्घमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको थापाले बताउनुभयो । साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ महत्त्वपूर्ण हुने उहाँको भनाई थियो । 

‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको ४ नं वाहिनी अड्डाले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले वि.सं. २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो ।