अर्घाखाँची समाचारदाता
अर्घाखाँची, मङ्सिर ४ गते । लुम्बिनी प्रदेशको राजधानी देउखुरी जोड्ने गच्छे–भालुवाङ सडक निर्माण सुरु भएको २५ वर्ष पूरा हुँदा पनि अधुरै रहेको छ । बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन ।
देउखुरीमा प्रदेश राजधानी प्रवेशका लागि सडक निर्माण सम्पन्न भए छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पाबाट प्रदेश राजधानी देउखुरी आउजाउ निकै सहज हुन्छ ।
अहिले प्रदेश राजधानी आउजाउका लागि अर्घाखाँची र गुल्मीको तम्घासका स्थानीय सन्धिखर्क–गोरुसिङ्गे सडक हुँदै पूर्वपश्चिम राजमार्गबाट लामो यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडक झन्डै आधा छोटो हुन्छ । सन्धिखर्क–गोरुसिङ्गे–भालुवाङ १२४ किलोमिटर दुरी छ । सन्धिखर्क नजिकैको गच्छे–भालुवाङ ६७ किलोमिटरको दुरी रहेको छ ।
गुल्मी, पाल्पा र अर्घाखाँचीका लागि प्रदेश राजधानी पुग्ने यो वैकल्पिक सडक बनेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष अढाई करोड रुपियाँ विनियोजन गरेको छ । जसबाट गच्छेदेखि साढे पाँच किलोमिटर सडक पिचको काम गरिने सडक पूर्वाधार विकास कार्यालयका आयोजना प्रमुख गोपी पुनमगरले बताउनुभयो । गच्छे–लामातालसम्मको ४७ किलोमिटर सडक ग्राभेल गर्न एक अर्ब रुपियाँ बजेट लाग्ने उहाँले बताउनुभयो । यही अनुसार काम हुँदा अझै १० वर्ष लाग्ने उहाँको भनाइ छ ।
प्रदेशबाट कम बजेट परे पनि सङ्घ सरकारबाट समपूरकमा राख्न सके कामले गति लिने देखिन्छ । पर्याप्त बजेट भएमा भने दुई–तीन वर्षमा यातायात सञ्चालन गर्ने बनाउन सकिने पुनको भनाइ छ ।
धनचौरको साप्रेभिरमा जटिल पहरोको बिचबाट सडक छिचोलेर फराकिलो पार्ने काम अझै पूरा भएको छैन । शीतगङ्गा नगरपालिकाको जलुके, जुकेनाका स्थानीयलाई जिल्ला सदरमुकाम टाढा भएकाले सामान किन्न भालुवाङ नजिक पर्छ । २५ वर्षसम्म पनि सडक पूरा नहुँदा दक्षिणी क्षेत्र ओझेलमा परेको धनचौरका हृदय भुसालले बताउनुभयो ।