• ९ मंसिर २०८१, आइतबार

नेपाल–चीन मित्रता स्तम्भ निर्माण

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर ४ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल–चीन मित्रता शिलास्तम्भ स्थापना गरिएको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायबाट मित्रता शिलास्तम्भ अनावरण गरिएको हो । आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्य र चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्युले बुद्ध जन्मस्थलमा रहेको विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायको कार्यालय परिसरमा रहेको स्तम्भको अनावरण गर्नुभएको हो । 

कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा वज्राचार्यले स्तम्भ अनावरणसँगै नेपाल र चीनबिचको सम्बन्ध अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । बौद्ध विश्वविद्यालको विकास र शैक्षिक उन्नयनमा चीनको सदैव सकारात्मक सहयोग रहँदै आएको बताउँदै उहाँले आगामी दिनमा नेपाल–चीनबिचको सांस्कृतिक आदानप्रदान रहिरहने उल्लेख गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको भन्दै उहाँले यी योजना सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । 

चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्युले सबैको सामूहिक प्रयासमा मित्रता स्तम्भ राख्ने काम सफल भएको बताउँदै यो प्रयासले विश्वविद्यालय र चिनियाँ जनताबिचको सम्पर्क र सहकार्य बलियो हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो केन्द्रले विगत १० वर्षदेखि नेपाल र चीनका विविध क्षेत्र र व्यक्तिको सहकार्य गर्ने आधार प्रदान गर्दै आएको छ । आगामी दिनमा बुद्धभूमिबाट बुद्ध अनुयायीलाई सुख, शान्ति र समृद्धि प्राप्त होस् ।”

चीनका प्रसिद्ध क्यालिग्राफी कलाकार क्वान तोङ्गले आफ्नो कलाकृति चीनको परम्परागत संस्कृति ‘फू’ लिपिसँग सम्बन्धित रहेको जनाउँदै जसले आफैँमा गहन अर्थ र भाव व्यक्त गरेको र स्थापित शिलामा बुद्ध ज्ञानसँग सम्बन्धित बोधिको प्रतिनिधित्व गर्ने पिपलको पात र बुद्ध रूप चित्रित गरेको जानकारी गराउनुभयो ।

नेपाल र चीनबिचको प्राचीन संस्कृतिको अन्तरघुलन होस् भन्ने अभिप्रायले स्थापना गरिएको शिलामा चीनमा प्रतिष्ठित बहुमूल्य मानिने कलाकृति अभिलेख गरिएको छ । नेपाल र चीनबिचको सम्बन्ध विस्तारका लागि शिलास्तम्भ स्थापना गरिएको बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

लामो समयको प्रक्रियापछि करिब तीन महिनाअगाडि शिलास्तम्भ लुम्बिनीमा ल्याइएको र आइतबार विशेष समारोहबिच चिनियाँ प्रतिनिधिको रोहवरमा अनावरण गरिएको परम्परागत बौद्ध चिकित्साका लागि प्रमुख अनुसन्धान केन्द्रका प्रमुख डा. सागर न्यौपाने जानकारी दिनुभयो ।