• ९ मंसिर २०८१, आइतबार

जोखिम मोलेर पहिरो स्थलमै बास

blog

असोज ११ र १२ गतेको अविरल वर्षाले जुगल गाउँपालिका–१, कुनेगाउँका चन्द्रबहादुर बिसुङ्खेको उच्च जोखिममा परेको घर ।

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर ४ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, कुनेगाउँमा गत असोज ११ र १२ गतेको अविरल वर्षाले गाउँका तीन घर बगायो भने १२ घर उच्च जोखिममा पारेका छन् तर सरकारले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा प्रभावितहरू जोखिम स्थलमै बसोबास गर्न बाध्य छन् ।

कुनेगाउँका १२ घर उच्च जोखिममा भए पनि प्रभावितहरू घर छाडेर अन्यत्र गएर बस्न सकेका छैनन् । अन्य स्थानमा सुरक्षित जग्गा नभएका कारण जोखिम स्थलमै बस्नु परेको पहिरो प्रभावित चन्द्रबहादुर बिसुङ्खेले पीडा सुनाउनुभयो । पहिरोले सँगैरहेका तीन घर सर्लक्कै बगायो । सँगैरहेको चन्द्र र विकास रोक्काको घर उस्तै जोखिममा छन् । पहिरो गएको यति लामो समय हुँदासमेत सरकारले त्यस ठाउँमा स्थानान्तरणका केही काम अघि बढाएको छैन । 

त्यसो त चन्द्र र विकासको मात्रै होइन । कुनेगाउँको पहिरो स्थलसँगै रहेका दलित समुदायका ठाडो, भिरालो जग्गामा बनेका १२ घरको माथिल्लो क्षेत्र बग्ने अवस्थामा छ । पहिरोका कारण उक्त घरका आँगन चिरा चिरा परेका छन् । सामान्य वर्षा भएमा मात्रै पनि घर बग्न सक्ने भूगर्भविद्को भनाइ छ । प्रभावित धाँजा फाटेका आँगनछेउका घरमा बसिरहेका छन् । ती घरमा ४० जनाभन्दा बढी सदस्य छन् । प्रभावित विकास रोक्काका अनुसार सुरक्षित स्थानमा गएर बस्न मन छ तर अन्यत्र सुरक्षित जग्गा नहुँदा ज्यान जोखिममा राखेर बस्नु परेको उहाँको भनाइ छ । तीनै तहका सरकार र सरोकारवाला निकायले बेवास्ता गरेको प्रभावितको दुःखेसो छ ।

बिहानी समयमा घरमाथिबाट आएको पहिरोले एकै छप्कामा चित्रबहादुर मिजार, अजय बिसुङ्खे र अज्य बिसुङ्खेको घर बगाएको थियो । ती घरमा बसिरहेका चित्रबहादुर, उहाँकी धर्मपत्नी ठुलीकान्छी मिजार, अविनाश नेपाली, पाँच वर्षीय अविरल नेपालीलाई पहिरोले घरसहित बगाएको थियो । चित्रबहादुर र अविनाशको शव फेला परे पनि बालक र ठुलीकान्छी अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काले बताउनुभयो । बाढीपहिरोमा सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको थियो । जुगलको कुनेगाउँ, लिसङ्खुपाखर गाउँपालिका–३ र सुनकोशी गापा–४ मा पहिरोले घरसहित बगाएको थियो ।