कृतबहादुर विष्ट
फूलवारी (कैलाली), मङ्सिर २ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभएको छ। आइतबार कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले भौतिक संरचनासँगै गुणस्तरीय शिक्षामा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भएका छन्, अब गुणस्तरीयसँगै प्राविधिक शिक्षामा जोड दिनुपर्छ, म सहयोग गर्न तयार छु।’ छोटो सम्बोधन गर्नुभएका पूर्व प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाडि बढाउनुपर्ने यसका लागि आफू तयार रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘म यही ठाउँको मान्छे हुँ, यहाँका सबै समस्या थाहा छन्, मैले सक्ने सहयोग गर्ने छु।’’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको सुरुवात भएको तर अझै धेरै काम बाँकी रहेकाले सहयोग गर्न पूर्व प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो।
नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर, सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले यहाँका समस्या उहाँकै पहलमा मात्र समाधान हुने बताउनुभयो।
सभापति देउवाले आइतबार नै धनगढी उपमहानगरपालिका–१६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पूजाआजा समेत गर्नुभयो। गौरीगङ्गा नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी हुनुभएका देउवाले वेहेडाबाबा मन्दिरको दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए।
आजै सभापति देउवाले गेटा अस्पतालको समेत निरीक्षण गर्नुभएको छ। निरीक्षण पश्चात् संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले गेटा अस्पतालको उन्नतिको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गेटा अस्पतालको विकाससँगै स्थानीय जनतालाई स्वास्थ्य सेवामा सहज हुने भएको आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो।