• २८ पुस २०८१, आइतबार

चिल्ड्रेन पार्कको काम अघि बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

blog

चिल्ड्रेन पार्क निर्माणस्थलको अवलोकनमा मुख्यमन्त्री कार्की । तस्विरः विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित सुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताउनुभएको छ । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।

चिल्ड्रेन पार्क निर्माणको विषयमा लामो समयदेखि कुरा उठे पनि नबनेको स्थानीयले बताएपछि मुख्यमन्त्री कार्कीले यसै आर्थिक वर्षबाट काम सुरु हुने बताउनुभएको छ । पार्क निर्माणस्थलको अवलोकन गर्दै उहाँले शहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई काम अघि बढाउन निर्देशन दिनुभएको थियो । स्थानीयसँग समन्वय गरी काम छिटाे बढाउन उहाँले आचार्यलाई निर्देशन दिनुभयो । 

पार्क जानका लागि ५८ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सकिएको भए पनि पार्क भने बन्न सुरु गरेको छैन । पार्कमा स्विमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा खेल सामाग्री, चमेना गृह, खुल्ला जिम लगायतका संरचनाहरु रहने वडाध्यक्ष अग्नि कोइरालाले जानकारी दिनुभयो ।

यसैबिच मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरु अवलोकन गर्दै सुरु भएका विकास निर्माणका योजना र अन्य सबै प्रकारका योजना पूरा गरिँदै लैजाने बताउनुभयो ।