• ४ पुस २०८१, बिहिबार

पक्की पुल शिलान्यास

blog

त्रिपुरासुन्दरी नगरपालिका–१ को छलगाड खोलामा पक्की पुलको शिलान्यास गरिँदै । तस्बिर : विष्णुप्रसाद देवकोटा

डोल्पा समाचारदाता

डोल्पा, मङ्सिर २ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुल शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले पक्की पुलको शिलान्यास गर्नुभएको हो ।

छलगाडमा बन्ने पक्की पुलको शिलान्यास गर्ने क्रममा उहाँले पुल निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा भेरी कोरिडोरको स्तरोन्नति साथै पक्की पुल निर्माण भएकाले गुणस्तरीय र निर्धारित समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । 

उक्त पुल निर्माणको जिम्मा भरतपुर चितवनको वाइपिएमआर जेभीले पाएको छ । २०८३ साउनभित्रमा सम्पन्न गर्ने गरी जिम्मा पाएका निर्माण कम्पनीका सञ्चालक रमेश भट्टराईले बताउनुभयो । पुलको निर्माण अवधि ४२ महिनामध्ये नौ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइनलगायतका काम सम्पन्न गरी छिटोभन्दा छिटो पक्की पुलको निर्माण कार्य सक्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । सो पुल ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ ।

भेरी कोरिडोर सडकखण्ड अन्तर्गतको डोल्पाको त्रिपुरासुन्दरी–१, छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हँुदै आएको छ । पुल निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायालगायतको पहल सकारात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने सञ्चालक भट्टराईले बताउनुभयो । सो कम्पनीले उक्त पुलसहित जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमाथिको पुल र डोल्पाको खदाङस्थित हरियापानीको गरी तीन वटा पुल निर्माणका लागि ३६ करोडको लागतमा जिम्मेवारी पाएको छ ।