• २८ पुस २०८१, आइतबार

दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित

blog

सियोल, कात्तिक ३० गते । दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उहाँलाई रोक्न सक्छ ।

सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो ।

अदालतले उहाँलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई  उदृत गर्दै एएफपीले जनाएको छ । यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ ।

फैसलापछि लीका आक्रोसित समर्थकहरू अदालत बाहिर भेला भई उहाँको पक्षमा नाराबाजी गरेका थिए । नेता लीले फैसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो भएको बताउनुभएको छ । 

उहाँले भन्नुभयो “मलाई विश्वास छ कि हाम्रा जनताले सामान्य ज्ञान र न्यायको भावना प्रयोग गरेर आफ्नै निष्कर्षमा पुग्न सक्छन ।”

सन् २०२७ मा हुने दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनावमा लीलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ । यद्यपि लीले धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको छ ।

लीले सन् २०२१ डिसेम्बरमा विवादास्पद विकास परियोजनाका प्रमुख व्यक्तित्व किम मुन–कीलाई नचिनेको भनी झुटो बयान दिनुभएको थियो । किम केही दिन अघि मृत फेला पर्नुभएको थियो तर उहाँको मृत्युको बारेमा प्रहरीले प्रमाण फेला नपारेको जनाएको छ । अभियोजकहरूले लीलाई दुई वर्षको जेल सजायको माग गरेका थिए ।

सन् २०२१ मा संसदीय सुनुवाइका क्रममा भूमि, पूर्वाधार र यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूलाई अर्को विवादास्पद विकास परियोजनाका लागि ‘दबाब’ दिएको भन्दै झुट बोलेको आरोप पनि लीमाथि लगाइएको छ ।

फैसला कार्यान्वयन भयो भने दक्षिण कोरियाली कानुनले लीको  संसदीय सिट खारेज गरी अर्को पाँच वर्षसम्म सार्वजनिक पदका लागि प्रतिबन्ध लगाउनेछ । प्रतिबन्धले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उहाँलाई उम्मेदवार बन्नबाट रोक लगाउनेछ । रासस/एएफपी