• १२ पुस २०८१, शुक्रबार

योजना माग्न वडा सदस्य नै काठमाडौँमा

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक २९ गते । सङ्घीयताले अधिकार र बजेट स्थानीय तहमै पुर्‍याएको भनिए पनि सङ्घीय मन्त्रालयमा बजेट माग्न वडा सदस्यसमेत काठमाडौँस्थित सङ्घीय सरकारका मन्त्रालयमा जाने गरेका छन् ।

टीकापुर नगरपालिकाका जनप्रतिनिधिको आर्थिक वर्ष २०८०/८१ को भ्रमण खर्चको विवरण हेर्दा यस्तै देखिएको छ । 

यहाँको वडा नम्बर १ का अध्यक्षबाहेक आठ वटा वडाका वडाध्यक्षले कार्यालयको काम जनाएर काठमाडौँ भ्रमण गरेका छन् । तीन पटक भ्रमण गर्नुभएका वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीको मात्र भ्रमणको उद्देश्य र काम खुलाइएको छ ।

भ्रमणको उद्देश्यमा विभिन्न मन्त्रालयमा भेटघाट, मन्त्रीलाई बस्तीका समस्याबारे जानकारी दिन, विभिन्न मन्त्रालयमा समन्वय र भेटघाट गर्न, विभिन्न मन्त्रालय र माननीयसँग भेटघाट गर्न भनेर भ्रमण स्वीकृत गर्नुभएको छ । 

वर्षभरिमा नगरपालिकाको बजेटमा २३ जना जनप्रतिनिधिले भ्रमण गर्दा १० लाख ९८ हजार रुपियाँ खर्च भएको छ । देशका विभिन्न भागमा भ्रमण गर्दा एक लाख ९५ हजार रुपियाँ खर्च भएको छ भने काडमाडौँ भ्रमणमा मात्रै नौ लाख तीन हजार खर्च भएको छ । 

दुई पटक काठमाडौँ भ्रमण गर्नुभएका वडा सदस्य नरेश विकले एक पटक भूमि सुधार मन्त्रालयमा बस्तीका समस्या सुनाउन र अर्को पटक सुकुमवासी समस्याका विषय लिएर भ्रमण गर्नुभएको उल्लेख छ । 

वडा सदस्य खम्म ठकुल्ला, कन्हैया चौधरी, बलराम चौधरीले विभिन्न मन्त्रालयमा भेट्न र देवेन्द्र चौधरीले शिक्षा शाखा उद्देश्य राखेर भ्रमण गर्नुभएको छ । छ जना कार्यपालिकाका सदस्यले पनि कार्यालयका तर्फबाट काठमाडौँ भ्रमण गर्नुभएको छ । 

तीन पटक काठमाडौँ भ्रमण गर्नुभएका दीपकबहादुर निसानीको भ्रमणको उद्देश्य विभिन्न मन्त्रालयमा योजना माग गर्न लेखिएको छ । दुई पटक काठमाडौँ भ्रमण गर्नुभएकी कार्यपालिका सदस्य मञ्जु विकले पनि योजना माग गर्ने उद्देश्य राख्नुभएको छ ।

कार्यपालिका सदस्यहरू रूपमती डगौराले कृषि मन्त्रालयमा समन्वय र भेटघाट गर्ने उद्देश्यले कैलाशपति चौधरी, सरस्वती तिरुवा, राजरानी चौधरीले कार्यालयको कामको उद्देश्यले काठमाडौँ भ्रमण गर्नुभएको छ ।

भ्रमणमा जानुभएका सदस्यहरूले घुमघाम र भेटघाट भएको तर मागेको योजना नपरेको बताउँछन् । कार्यपालिका सदस्य दीपकबहादुर निसानी भन्नुहुन्छ, “नेताले कोसिस गर्ने हो मागेको पाइन्छ पाइँदैन अर्को कुरा हो ।” 

अर्का कार्यपालिका सदस्य राजरानी चौधरी भन्नुहुन्छ, “राजनीतिक पहुँच भएपछि मागेको योजना पर्छ, हामीहरू त मन्त्रालयमा सचिव, मन्त्रीलाई भेट्न समूहमै गएका हौँ ।” 

एक जना सदस्य भन्नुहुन्छ, “ठुला मानिस पटक पटक जान्छन् साना मानिसले एक पटक काठमाडौँ जान पाउनु प¥यो भन्ने हो हामीले मागेको योजना आउने भए त टीकापुर पनि काठमाडौँ भइसक्थ्यो ।”

संविधान सभाका सदस्य हरिलाल ज्ञवाली सङ्घीयतापछि पनि स्रोत केन्द्रमा नै छ भनी राजनीतिक सम्बन्धका आधारमा योजना माग्न जाने चलन छ तर जुन उद्देश्य बोकेर गएको हो त्यो पूरा गर्नु पर्छ तर भ्रमणका लागि भ्रमण जनतासँगको वाचाविपरीत हुने बताउनुहुन्छ ।