• १८ पुस २०८१, बिहिबार

नवलपुरमा गैँडाले मच्चाएको आतङ्क

blog

चिनवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बस्तीमा छिरेको गैँडा । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, कात्तिक २८ गते ।
चिनवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बस्तीमा छिरेर नवलपुरमा गैँडाले आतङ्क मच्चाएको छ । मङ्गलबार बिहानै देवचुली नगरपालिका वडा नं. १ बाट वस्तीमा छिरेको गैँडाले दिनभरी १, ३ र ४ नं. वडामा आतङ्क मच्चाएको हो ।

डिभिजन वन कार्यालय, सामुदायीक वन, नेपाल प्रहरी, नेपाली सेना र मध्यवर्ती क्षेत्रका बासिन्दाको निरन्तर प्रयासमा गैँडालाई बुधबार बिहान ३ बजे जङ्गल फर्काइएको डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिनुभयो ।

गैँडा बस्तीमा छिरेपछि नागरिकलाई सचेत गराइएकाले कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा चार दिन अघिदेखि भएको होहल्लाका कारण गैँडा बस्ती पसेको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो । देवचुली नगरपालिका २ को नारायणी नदी किनारमा चार दिन अघिदेखि एकादशी मेला लागेको थियो ।

उक्त मेलामा भएको होहल्लाका कारण गैँडा तर्सिएर बस्ती पसेको अध्यक्ष पाण्डेले बताउनुभयो । अँध्यारो भएपछि चर्न निस्कने गैँडा मेलामा अबेरसम्म हुने बाजा र मानिसको होहल्लाका कारण बाटो बिराएर बस्ती तर्फ लागेको पाण्डेले बताउनुभयो ।

रमाईलो तथा साँस्कृतिक कार्यक्रम गर्दा समयको ख्याल गर्दै वन्यजन्तुले विचरण गर्ने क्षेत्रमा राति अवेरसम्म मानिसको जमघट नर्गन पनि पाण्डे आग्रह गर्नु भएको छ । यस्ता गतिविधिले वन्यजन्तुलाई असर पुग्ने र वन्यजन्तु मानव वस्तिमा पस्न सक्ने जोखिम हुने भएकोले सचेत हुनु पर्ने उहाँको सुझाव छ ।

दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा नारायणी नदि किनारमा कात्तिक २४ गतेदेखि लागेको मेलामा दैनिक हजारौंको भिड लागेको थियो ।