• १० पुस २०८१, बुधबार

महँगो टिकट

हवाई यात्रु भारततर्फ आकर्षित

blog

काठमाडौँ, कात्तिक २८ गते । नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यमा जाने यात्रुले भारतबाट हवाई सेवा लिन थालेका हुन् । 

दैनिक २१ घण्टा खुला हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत शुक्रबारदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदा त्यसको असर हवाई भाडामा परेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बिदेसिनेले भोग्न थालेका छन् ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भन्नुभयो, “नेपालभन्दा भारतमा हवाई इन्धनको मूल्य सस्तो हुने गरेको छ । भारतमा तुलनात्मक हवाई भाडा नेपालभन्दा सस्तो भएपछि अहिले नेपाली श्रमिक दिल्लीबाट उड्न थालेका छन् ।” नेपालबाट उडान भर्दा श्रमिकले वर्षभर कमाउने बराबरको पैसा हवाई टिकटमै जाने भएपछि भारतीय गन्तव्यतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । यसले भोलिका दिनमा नेपाली वायु सेवा र नेपाली पर्यटन क्षेत्रमा ठुलो समस्या निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

सरदर दैनिक १५ सय नेपाली रोजगारीका लागि बिदेसिने गरेकामा अहिले नोभेम्बरभित्रका टिकट उपलब्ध नरहेको र उपलब्ध टिकटसमेत बिजनेस क्लासका महँगा मात्रै हुँदा श्रमिक मर्कामा परेको उहाँले बताउनुभयो । भैरहवाबाट पाँच वटा हवाई कम्पनीले उडान सञ्चालन गर्दासमेत हवाई भाडा नघटेपछि स्वीकृति पाएका यात्रु भारतबाट वैदेशिक रोजगारमा जान थालेको उहाँले सुनाउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकटको मूल्य कम गर्नेबारे सरोकारवालासँग पाँचबुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडानतर्फका एयरलाइन्स कम्पनीले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा टिकट बिक्री गर्ने अधिकार फुकुवा भए मात्र भैरहवामा टिकट उपलब्ध हुने र भाडा पनि प्रतिस्पर्धी हुने सम्भावना देखिन्छ । नभए भैरहवामा तत्काल टिकट उपलब्ध हुने सम्भावना नरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

ट्राभल एजेन्सीले कम मूल्यमा वायु सेवा कम्पनीसँग एकमुस्ट टिकट किनेर महँगोमा यात्रुलाई बेच्न नछाडेसम्म काठमाडौँ वा भैरहवा कुनै पनि गन्तव्यको टिकट महँगो भइरहने उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले एकातर्फ उडान कटौती र अर्कोतर्फ पर्यटकको मौसम र चाडपर्वमा आउजाउ गर्ने यात्रुको सङ्ख्या बढेपछि टिकटमा समस्या देखिएको छ । वायुसेवा कम्पनीले तोकेको न्यूनतम र अधिकतम दरबाहेक टिकट बिक्री गरे वायुसेवा कम्पनीलाई कारबाही गर्दै सम्बन्धित देशको नियामक निकायलाई पत्र लेखेर कारबाही गर्छौं ।”

आन्तरिक वायुसेवा कम्पनीको हवाई भाडा प्राधिकरणले तोक्दै र नियमन गर्दै आए पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको हवाई भाडा दुई देशबिच भएको हवाई सेवा सम्झौता अनुसार प्रतिस्पर्धात्मक रूपमा हुने गरेको छ । सिन्डिकेट र कार्टेलिङ नगर्दासमेत यसमा सरकारले हस्तक्षेप गर्न नसक्ने उहाँले बताउनुभयो । 

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।