• १७ असार २०७९, शुक्रबार

डिजिटल प्रविधि र स्वस्थ बुढ्यौली

blog

आज (मे १७) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । यो दिवसको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) स्थापना गर्न पेरिसमा आयोजित सम्मेलनमा संस्थापक सदस्य राष्ट्रका प्रतिनिधिले हस्ताक्षर गरी संस्था स्थापना गरेको दिनको सम्झना गर्नु नै हो । 

यो दिवस सन् १९६९ मे १७ को दिन मनाइएको थियो र त्यस दिवसको नारा ‘आईटीयू, शिक्षा र टेलिकम सँगसँगै जानौँ’ भन्ने थियो । संयुक्त राष्ट्रसङ्घको प्रस्तावअनुसार ट्युनिसियाको राजधानी ट्युनिसमा सन् २००५ मा भएको सूचना समाजको विश्व शिखर सम्मेलनबाट दूरसञ्चार सेवा र सूचना समाजको आपसी सम्बन्ध माछा र पानीको जस्तो हुने र सूचना समाजको विकासका लागि दूरसञ्चार सेवाले पु-याएको महìवपूर्ण भूमिकालाई दृष्टिगत गरी विश्व दूरसञ्चार दिवसका साथसाथै विश्व सूचना समाज दिवस पनि मनाउने निर्णय भएको थियो । 

जेनेभास्थित आईटीयूले विश्वमा देखा परेको दूरसञ्चार सेवासम्बन्धी विकास, प्रयोग र त्यस सेवाबाट समाजले के कति फाइदा लिएको छ र लिन सक्दछ, के गर्दा विश्वमा देखिएका केही समस्या सुल्झाउन सकिन्छ भने दिवसको उपयुक्त नाराको तय गरी १९३ सदस्य राष्ट्रलाई विभिन्न कार्यक्रम सञ्चालन गरी भव्यतासाथ मनाउन विशेष आग्रह गर्ने परिपाटी छ । आईटीयूको आह्वानमा नेपालले अरू सदस्य राष्ट्रसरह नीति निर्माता, नियामक संस्था, सेवा प्रदायकका आ आफ्नो भूमिकाअनुसार विभिन्न कार्यक्रम सञ्चालन गरी दिवस मनाउने र सोको समन्वयकर्ताको भूमिका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै हुन जान्छ ।

नेपालले पाँचौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ वैशाख १९ गते ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ भव्यतासाथ मनाइएको दुई हप्ता नै नबित्दा यो विश्व दूरसञ्चार तथा सूचना दिवस मनाउने दिन आएको छ । यो दिवसको नारा ‘ज्येष्ठ नागरिक र स्वस्थकर बुढ्यौलीका लागि डिजिटल प्रविधि’ विश्वको बढ्दो सङ्ख्या विचार गर्दा निकै लाभदायी देखिन्छ र यो दिवस मनाउनाले केही राम्रा प्रतिफल पाइने आशा गर्न सकिन्छ । 

प्रचलन तथा सान्दर्भिकता

आज मानव समाजमा दूरसञ्चार सेवाले महìवपूर्ण योगदान दिएको छ र दूरसञ्चार सेवालाई विलासी सेवाका रूपमा वर्गीकरण गर्दा दूरसञ्चार विकाससम्बन्धी आयोजना प्राथमिताका क्रममा पुछारमा पर्नुपर्ने अवस्था थियो भने आज यो सेवासम्बन्धी आयोजना अग्रपङ्क्तिमा छन् । दैवी विपत्ति, कोभिड–१९ जस्ता महामारीको समयमा यो सेवाले पु-याउन सक्ने असीमित सुविधाले त दूरसञ्चार सेवा मानव जातिका लागि पूर्वाधार बन्न पुगेको छ ।

एकातिर सरकारले दूरसञ्चार सेवालाई अति आवश्यक सेवा मानी प्राथमिकतामा योजना पार्न र अर्कोतिर आईटीयू र अन्य विकसित देशका अनुसन्धान केन्द्रको प्रयासबाट सूचना तथा सञ्चार प्रविधिको विकासको गति बढ्न मानव समाजका लागि निकै ठूलो अवसर प्राप्त हुनु हो । आईटीयूले पनि सूक्ष्म रूपमा आफ्ना १९३ सदस्य राष्ट्र तथा ९०० भन्दा बढी औद्योगिक प्रतिष्ठान, विश्वविद्यालय र गैरसरकारी संस्थाका विज्ञको सहयोगबाट सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र उपयोग गर्ने काममा महìवपूर्ण योगदान दिँदै आएको छ । 

विज्ञान र प्रविधिको विकासबाट प्राप्त प्रतिफल उपयोग गरी मानव समाज सुखी र समृद्ध हुन सकून् भन्ने उद्देश्य राखेर यो दिवसको नारा तय गरेको देखिन्छ । पाका जनसङ्ख्या र बुढ्यौलीका अन्तिम चरणमा पाइला टेकेका व्यक्तिको सङ्ख्या विश्वका सबै मुलुकमा वृद्धि हुँदै छ ।

त्यस खालको जनसङ्ख्यालाई दूरसञ्चार सेवाले कसरी सहयोग गर्न सक्दछ, सहयोग लिन, सहयोग दिन, सहयोग उपलब्ध हुने वातावरण सिर्जना गर्न, सरकारी नीति निर्माता, नियामक संस्था, सेवा प्रदायक र आम उपभोक्ताबीच आपसी छलफल र विचारविर्मश होस् भन्ने उद्देश्यले विज्ञले तयार गरेको कार्यक्रम संलग्न गरी यो विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउन आह्वान गर्नुले विश्वमा नयाँ औद्योगिक सूचना प्रविधि क्रान्तिलाई सफल पार्न सघाउ पु-याएको छ । 

डिजिटल प्रविधि

डिजिटल प्रविधिको विकासले मानिसले नसोचेको, कल्पनासमेत नगरेको सेवा र सुविधा प्राप्त हुने वातावरण सिर्जना भएको छ । ज्येष्ठ नागरिकले स्वस्थकर जीवनयापन गर्न प्रविधिको प्रयोग गर्न कस्तो नीति निर्माण गरे, कस्तो नियमन व्यवस्था भए, कस्तो खालको मोबाइल सेट सेवा प्रदायकले उपलब्ध गराए, सोबारे दूरसञ्चार क्षेत्रका सम्बन्धित जिम्मेवार पक्षले समयमै आवश्यक व्यवस्था गरून् भन्ने उद्देश्यले आईटीयूको कार्यकारी परिषद्ले यो दिवसको नारा तय गरेको छ ।

प्रविधिबाट बूढेसकालमा चाहिने सबै खाले सेवा सजिलैसँग उपलब्ध गराउन सकिन्छ तर आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई कसरी सस्तो सेट उपलब्ध गराउने, आँखा, कान कमजोर भएका ज्येष्ठ नागरिकलाई कस्तो खालको मोबाइल सेटको स्पेसिफिकेसन बनाउने, अनलाइन सेवा के के कामका लागि प्रयोग गर्ने, विभिन्न भौगोलिक क्षेत्रमा रहेका ज्येष्ठ नागरिकलाई एकैखाले सेवा दिने वा व्यक्तिका आर्थिक अवस्थाअनुरूप सेवालाई वर्गीकरण गर्ने, नयाँ सेवा प्रयोग गर्न कसरी सिकाउने सोबारे सरकारले स्पष्ट नीति निर्माण गर्न जरुरी छ । नियमन गर्ने संस्थाले पनि सरकारद्वारा निर्मित नीतिको आधारमा सेवा प्रदायकलाई उपर्युक्त सुहाउँदो व्यवस्था गर्न प्रेरित गर्नु पर्दछ तब मात्र आईटीयूले तय गरेको नारा सार्थक हुनेछ ।

नेपाल र आईटीयूको अन्तरसम्बन्ध 

आईटीयू, सूचना तथा सञ्चार प्रविधिको समुचित विकास गरी विश्वको सर्वाङ्गीण विकासका लागि सञ्चार क्षेत्रले पु-याउन सक्ने योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसङ्घ स्थापना हुनुअगावै सन् १८६५ मे १७ को दिन स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । नेपालले आईटीयूको सदस्यता सन् १९५७ डिसेम्बर ५ मा प्राप्त गरेयता यसको क्रियाकलापमा संलग्न भई आवश्यक सहयोग लिइरहेको छ ।

विश्व बैङ्कको ऋण सहयोग नेपालमा भिœयाउन आवश्यक योजना तयार गर्न, विभिन्न दूरसञ्चार सेवा चालू गर्न, फ्रिक्वेन्सी व्यवस्थापन गर्न, विभिन्न समयमा विभिन्न विशेषज्ञको सेवा उपलब्ध गराउन, जनशक्तिको उचित व्यवस्थापन गर्न तालिम केन्द्रको स्थापना, मर्मत सम्भार र सेवा सञ्चालन गर्न आवश्यक सङ्गठन तयार पार्न, फ्रिक्वेन्सी मनिटरिङ गर्न, दूरसञ्चार प्रशासनका जनशक्तिलाई आईटीयू र विभिन्न मुलुकमा आयोजना हुने सम्मेलन, सेमिनार, कार्यशाला, बैठक आदिमा भाग लिन फेलोसिपको व्यवस्था गर्न आईटीयूले सहयोग दिँदै आएको छ तर सन् १९९० अघिसम्म जुन रूपले आईटीयूबाट नेपालले सहयोग प्राप्त गरेको थियो, त्यसको दाँजोमा हालका दिन सहयोग लिने दिने कार्यले गति लिन सकेको छैन । 

आईटीयूका मुख्य अङ्गले गर्ने कार्य

रेडियो कम्युनिकेसन सेक्टर (आईटीयू : आर) : यस सेक्टरले बेतार प्रणालीको माध्यमबाट गरिने सेवा विस्तार, रेडियो फ्रिक्वेन्सीको व्यवस्थापन र भूउपग्रह सञ्चारका लागि भूउपग्रह कक्षको बाँडफाँटजस्ता कार्यमा अध्ययन, अनुसन्धान र समन्वयकारी भूमिका निर्वाह गर्ने कार्य गर्दछ । यही सेक्टरअन्तर्गत उच्च गतिको मोबाइल सेवा, ब्रोड ब्यान्ड प्रसारण सेवासम्बन्धी काम पर्दछ । 

टेलिकम्युनिकेसन स्टान्डर्डाइजेसन सेक्टर (आईटीयू : टी) : यस सेक्टरले सूचना र सञ्चार प्रविधिसम्बन्धी नेटर्वकको स्थापना, विस्तार र सञ्चालन सम्बन्धमा सेवाको गुणस्तर र उपकरणको स्पेसिफिकेसन तोक्ने काम गर्दछ । यस सेक्टरको सहयोगबिना विश्वव्यापी रूपमा टेलिफोन कल गर्न तथा इन्टरनेट सेवा प्रयोग गर्न सम्भव नै हुँदैन । टेलिकम्युनिकेसन डेभलपमेन्ट सेक्टर (आईटीयू : डी) :यस सेक्टरले विभिन्न मुलुकमा गरिने सेवा विस्तारका लागि नीति नियम तर्जुमा गर्न, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन, खासगरी कम विकसित मुलुकलाई दूरसञ्चारको क्षेत्रमा माथि उकास्न, प्रविधिको विकासले सबैजसो मुलुकमा देखिने डिजिटल खाल्डो (डिजिटल डिभाइड) पुर्न अपनाउनुपर्ने कार्य नीति तयार गर्न सघाउँछ ।

स्रोत र साधन

आईटीयूको मुख्य कार्यालय र क्षेत्रीय कार्यालयमा रहेका विज्ञको समूहबाहेक सबैजसो सदस्य राष्ट्रका विज्ञको सीप र ज्ञानको लेखाजोखा राख्ने क्षमता आईटीयूसंग छ । विभिन्न कालखण्डमा गरिएका अध्ययनको प्रतिवेदन, सेवा विस्तारका लागि चाहिने स्पेसिफिकेसन, सेवाको गुणस्तरको मापदण्ड, सेवा सञ्चालन विधि प्रक्रिया, आपसी नेटवर्क आबद्धता, स्विचिङ, ट्रान्समिसन, नम्बरिङ प्लान तर्जुमासम्बन्धी विधि विधानका म्यानुयलहरू, विभिन्न सेवाको तथ्याङ्कहरू, विश्वले प्रयोग गर्न सक्ने र गरेका फ्रिक्वेन्सीको मास्टर रजिस्टर (मुख्य खाता), विभिन्न समयमा भएका सर्वाधिकारसम्पन्न सम्मेलन आदि सबैका दस्तावेज त्यहां उपलब्ध छन् । ती सबै दस्तावेजमा सदस्य राष्ट्रको सहज पहुंच हुनेछ । त्यहां उपलब्ध स्रोतसाधनको प्रयोग गर्न सिक्न सकेमा मात्र सदस्य राष्ट्रलाई आफ्नो देशको सेवा विस्तार गर्न र सेवा गुणस्तर कायम राख्न निकै सघाउ पुग्नेछ । 

Author

ई. सुरेशकुमार पुडासौनी