गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । नेकपा (एमाले) का सचिव, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले दलित आन्दोलन सही बाटोमा रहेको भन्दै संविधानले सुनिश्चित गरेको अधिकार लिन कसैको दया नचाहिने बताउनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो । नेपाली समाज विविधताले भरिएको र दलित र गैरदलित समुदाय एकापसमा घुलमिल भएर बसे पनि राजनीतिक नेतृत्व तहमा भएकाहरुको मनमा भेदभावको भावना जीवितै रहेको उहाँको भनाइ छ ।
नेपाली समाज भाषिक, धार्मिक तथा जातीय रुपमा विविधताले भरिएको रहेकाले राज्यको संरचनामा पनि त्यो चित्र आउन आवश्यक रहेको उहाँले बताउनुभयो । समावेशीता, समतामुलक समाज निर्माणले राष्ट्रिय एकता झन बलियो हुने उहाँले चर्चा गर्नुभयो ।
राज्यबाट अपहेलित, विभेदपूर्ण अवस्थाबाट लामो समय पीडित रहेका दलित, महिला, मधेसी, थारु, मुस्लिम, आदिबासी जनजाति र उपेक्षित वर्गहरु एक भए भने अरुको अस्तित्व कहाँ पुग्छ ? त्यो कुरा गम्भीर भए पनि नेतृत्व तहले अझै सही मूल्याङ्कन गर्न नसकेको उहाँले बताउनुभयो । “समावेशी व्यवस्थाले गुणस्तरीयता भएन भन्नेहरु पनि विभेदपूर्ण मानसिकता भएकाहरु हुन्, विभेदकारीहरुलाई जनताले मतदानबाट ठेगान लगाउन सक्नुपर्छ ।”
“श्रम चल्छ, सीप चल्छ, भोट चल्छ तर पानी किन चल्दैन ?” जिज्ञासा गर्दै उहाँले अहिलेको अवस्थामा पनि विभेदपूर्ण मानसिकता कायम रहनु विडम्बनापूर्ण रहेको बताउनुभयो । दलित अधिकारका लागि दलित समुदाय नै एकतावद्ध हुनुको विकल्प नरहेको उहाँको भनाइ छ ।
नेकपा (एस) का सचिव गणेश विकले अहिलेको अवस्थामा पानी चल्ने र नचल्ने विषय गौण भएको तर अधिकारको कुरा मुख्य भएको बताउनुभयो । सबै दलको घोषणापत्र, ऐन, नियम कानुनमा दलितको विषय सम्बोधन हुने भए पनि व्यवहारमा दलितमाथि विभेद कायमै रहनेगरेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको पेशागत सुरक्षा, भौतिक सुरक्षा र दक्षता अभिबृद्धिका लागि सरकारले सहयोग नगरेको टिप्पणी गर्नृुभयो । केही दिनअघि मात्र ल्याइएको आर्थिक वर्ष २०८२–८३ बजेटमा पनि पत्रकारको विषयमा बजेट नआएको उहाँको आरोप छ ।
संघका अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य कमला विश्वकर्मा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेपाल प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, प्रेस सेन्टर नेपालका लक्ष्मण खड्काले शुभकामना मन्तव्य राख्नुभयो ।
त्यस्तै, दलित मुक्ति मोर्चाका पदम विश्वकर्मा, सञ्चारिका समूहकी सदस्य विष्णु पन्थी, मधेसी पत्रकार संघका अध्यक्ष मोहन सिंह, क्रान्तिकारी प्रेस संगठनका नारायण शर्मा, समाजवादी प्रेस संगठनका उपाध्यक्ष कृष्णराज गौतम लगायतले दलित अधिकार, दलित पत्रकारको सवालमा धारणा राख्नुभएको थियो ।