• २० जेठ २०८२, मङ्गलबार

महोत्सवको आकर्षण च्याब्रुङ नाच (फोटो फिचर)

blog

सिदिङवाधाम महोत्सवमा च्याब्रुङ नाच प्रस्तुत गर्दै लिम्बू समुदायका युवायुवती। तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, जेठ १८ गते। लिम्बू समुदायको मौलिक बाजाको रूपमा परिचित केःलाङ (च्याब्रुङ) नाचको प्रयोग बढ्दै गएको छ।विगतका समयमा लिम्बू जातिको विवाहमा मात्र सीमित रहेको च्याब्रुङ नाचको प्रयोग बढ्दै गएको हो।

लिम्बू भाषामा ‘के’ को अर्थ च्याब्रुङ र ‘लाङ’को अर्थ नाच्नु भएकाले यसलाई केःलाङ भन्ने गरिन्छ । आजभोलि आयोजना हुने विभिन्न मेला, महोत्सव, खेलकुदमा केःलाङको प्रयोग बढ्दो क्रममा रहेको छ।परम्परागत मौरीको घार जस्तो ढुँड बनाई जनावरको छाला प्रयोग गरि च्याब्रुङ निर्माण गरेर बजाइने गरिन्छ। 

यो नृत्यमा महिला र पुरुष भेला भएर गोलो घेरा बनाइ खुट्टा र हातको इसारामा घुमेर नाच्ने चलन छ। मौलिक जातीय भेषभुषा तथा गहनामा सजिएर नाच्ने प्रचलन रहेकाले केःलाङका कारण बाजाको मात्र नभई जातीय पोशाकको समेत संरक्षण भएको छ।

जेठ १५ देखि १७ गतेसम्म चलेको प्रथम सिदिङवाधाम महोत्सवको अवसरमा च्याब्रुङ नाच प्रस्तुत गरिएको हो। सिदिङवा गाउँपालिकाको आयोजनामा समुद्री सतहदेखि तीन हजार ६ सय मिटर उचाइमा रहेको वाड नम्बर ६ को तामडाँडामा महोत्सव सम्पन्न भएको हो।