ललितपुर, जेठ १८ गते । विसं २०५९ असोज १८ गते शाह वंशका अन्तिम शासक तत्कालीन राजाबाट ‘शाही घोषणा’ मार्फत जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि मुलुकमा सर्वत्र शाही कदमको विरोध सुरु भयो । बिस्तारै विद्यार्थी र राजनीतिक दलको अगुवाइमा आन्दोलन बढ्दै गयो । नागरिक समाजका तर्फबाट सशक्त रूपमा सत्याग्रह अघि बढ्यो तर तत्कालीन राजाको उपद्रव रोकिएन । त्यसपछि सशक्त रूपमा सुरु भयो २०६२/६३ को जनआन्दोलन र आन्दोलनको प्रस्थानविन्दु थियो निरङ्कुश राजतन्त्रको अन्त्य र गणतन्त्रको बहाली ।
२०६१ माघ १९ गते आफ्नै अध्यक्षतामा मन्त्रीपरिषद् घोषणा गरेर आन्दोलनलाई अझै चर्काउने बाटोतर्फ अग्रसर तत्कालीन राजाप्रति जनआक्रोश बढ्दै गयो । अन्ततः जनआन्दोलनबाट शाहवंशीय शासन सदाका लागि बिदा भयो ।
आन्दोलन सफल भएको दुई दशकपछि त्यसको अगुवाइ गरेको युवापुस्ताका नेतालाई शनिबार नागरिक समाजले खबरदारी गर्न आमन्त्रण गरेर जनसङ्घर्ष, त्याग र बलिदानीको स्मरण गराएको छ । संवादको निष्कर्ष छ– दल, नेतृत्व र गणतन्त्रको सुदृढीकरण आवश्यक छ । पछिल्ला दिनमा देखिएका प्रदर्शनले कुनै किसिमको राजतन्त्र फर्काउन सम्भव छैन । किनभने पूर्वराजाका समर्थक भनिएकासँग कुनै किसिमको राजनीतिक मुद्दा छैन ।
जनआन्दोलनका ‘युवा कमान्डर’ ले राजसंस्था वा कुनै स्वरूपका राजाको परिकल्पना नेपालको संविधान र नेपाली जनताले अब कदापि नगर्ने प्रस्ट पारेका छन् ।
सुदृढीकरणको सुझाव
आन्दोलनको मोर्चामा अगुवाइ गरेका युवा नेताका साथमा एउटै मञ्चमा प्रतिबद्धताका लागि उभिनुभएका अग्रज राजनीतिज्ञ नीलाम्बर आचार्यसमेतले गणतन्त्र बिथोल्ने चेष्टा भइरहेको बताउँदै खबरदारी र सुदृढीकरण गर्न
सुझाव दिनुभयो । उहाँले गणतन्त्रको घोषणापछि कुशासन र कुकाण्ड उजागर भएको र त्यसमा संलग्न कारबाहीको भागीदार भएको बताउँदै राजतन्त्रमा यस्ता विषय लुकाइने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वराजा समर्थक जो भनिएका छन्, २०८४ मा पार्टीमा गणतान्त्रिक शक्तिको आन्तरिक रूपान्तरणपछि आफ्नो अस्तित्व देखिँदैन भन्ने डरमा छन् । त्यसैले बिथोल्ने कोसिसमा छन् । त्यसैले सचेत भएर अघि बढ्नु पर्छ ।”
कांग्रेस महामन्त्री गगनकुमार थापाले गणतान्त्रिक संस्कृतिको अभ्यास व्यावहारिक रूपमा हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजाको शासनमा गलत गर्नेका विरुद्ध बोल्न, लेख्न पाइन्नथ्यो । अहिलेको शासनमा गलत ग¥यौ भनेर खबरदारी गर्न पाइएको छ । यही हो गणतान्त्रिक संस्कृतिको अभ्यास ।”
उहाँले पुरानो पुस्ताको नेतृत्वलाई सम्मानका साथ परिवर्तन गरेर पार्टीमा आन्तरिक सुधार गर्नु अनिवार्य सर्त रहेको प्रस्ट पार्नुभयो । गणतन्त्रमा राजनीतिक दलभित्र शुद्धता हुनुपर्ने बताउँदै आन्दोलनमा सँगै रहेका कांग्रेस, कम्युनिस्ट नेताबिच दृष्टिकोण फरक हुनुपर्ने र युवाले त्यो बोध गर्न पाउनुपर्ने उल्लेख गर्नुभयो । “अहिले पूर्वराजा समर्थकको प्रदर्शन भइरहेको छ । उनीहरूसँग योजना के छ, रोजगारीको समस्या कसरी समाधान गर्ने भन्नु पर्छ । पूर्वराजा मैदानमा आउनु पर्छ । अनि भन्नु पर्छ । कहिलेकाहीँ वक्तव्य निकालेर केही हुँदैन ।”
एमाले सचिव योगेश भट्टराईले नेपालको संविधान नै गणतन्त्रको साझा वैचारिक दस्ताबेज भएको बताउनुभयो । उहाँले २०४७ को संविधानले सम्झौतामा राजालाई ठाउँ दिइए पनि नमानेपछि तोडिएको बताउनुभयो । उहाँले मध्यम वर्गको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रको सुदृढीकरण र शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहाँ गल्ती भयो हेर्नु पर्छ । जनतालाई अनुहार र भूमिकाको बदलाव चाहिएको हो । कुशासन र भ्रष्टाचारले अस्थिरता भएको हो । अब अन्त्य यस्ता गलत प्रवृत्तिको अन्त्य गर्नु पर्छ ।”
एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाक्रीले वैचारिक प्रस्टताबिना कुनै आन्दोलन सफल नहुने बताउनुभयो । उहाँले भिड देखाएर पूर्वराजाले दलहरूलाई तर्साउन नखोजे हुन्छ भन्नुभयो ।
एमाले नेता ठाकुर गैरेले समाज रूपान्तरणका लागि लडेका पुस्ताले जनताले यो मेरो व्यवस्था हो भन्ने अवस्थामा पु¥याउन संविधान संशोधन र सुधार, शासकीय प्रणाली, निर्वाचन प्रणालीलगायतमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका नेता राम कार्कीले गणतन्त्रको संस्कृति निर्माण गर्न अनवरत काम गर्नुपर्ने र त्यसका लागि धेरै काम बाँकी रहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशलाई आवश्यकता अनुसारको गणतान्त्रिक संस्कृति निर्माण गर्नु पर्छ । राजतन्त्रको आवाज उठेको होइन, दलप्रतिको वितृष्णा सडकका देखिएको हो । अब आमूल सुधारमार्फत गणतन्त्रलाई जनतासँग जोड्नु पर्छ ।”आदिवासी जनजाति आन्दोलनका नेता पासाङ शेर्पा, पूर्वमन्त्री अनिल झा, वरिष्ठ पत्रकार शिव गाउँलेलगायतले लोकतन्त्रको संस्कृति निर्माण गर्न र राजनीतिक रूपान्तरणका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।