नवीनराज कुइँकेल
लमजुङ, जेठ १८ गते । लमजुङको विभिन्न गाउँमा निलो माखा जस्तो देखिने किराको प्रकोप बढेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बेसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको विभिन्न गाउँमा नयाँ प्रजातिको किराको प्रकोप देखिएको हो ।
बेसीसहर नगरपालिका–१० को बाँझाखेत, पाङ्ग्रेक्यु, चौर, सुन्दरबजारको गहते, राइनासको बोराङखोला क्षेत्र वरपर अत्याधिक मात्रामा यस्ता किरा फैलिएका छन् । बाँझाखेतका योगेश घिमिरेले केही दिनयता माखा जस्ता देखिने निला किराको प्रकोप देखिएको बताउनुभयो । “गाउँभरी निला माखा किरा देखिएका छन् । आँगन, पिँडीमा किरा छपक्कै छन् । धोएर सुकाएका कपडामा छपक्कै बसेका देखिन्छन”, घिमिरेले भन्नुभयो, “यस्ता किराको प्रकोप बढेपछि जिल्ला प्रशासन र सम्बन्धित कार्यालयलाई गुहारेका छौं ।”
सुन्दरबजार गहते निवासी विद्याज्योति मावि तार्कुका शिक्षक हस्तबहादुर गुरुङले गाउँमा नयाँ प्रजातिको किराले जोखिम बढाएको बताउनुभयो । किराको प्रकोप बढेपछि जतिबेला पनि झ्याल ढोका लगाएर बस्नुपरेको उहाँले बताउनुभयो ।
अस्वभाविक रुपमा फैलिएका यस्ता किराले मानव स्वास्थ्यमा भने कुनै असर नदेखिएको स्थानीयले बताएका छन् । तर सम्भावित जोखिम आँकलन गर्दै यसको अनुसन्धान र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र बेसीसहरको कृषि शाखालाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
“गाउँमा देखिएका नयाँ प्रजातिका किराको प्रकोपबारे बुझ्न स्वास्थ्य र कृषिलाई भनेका छौं”, प्रमुुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भन्नुभयो, “यसको अनुसन्धानपछि नियन्त्रणमा पनि लाग्छौं ।”
जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले नयाँ प्रजातिका किराको प्रकोप बढेपनि हालसम्म मानव स्वास्थ्यमा यसको असर नदेखिएको बताउनुभयो । उहाँले यी किराहरु नयाँ प्रजातिको भएकाले यसको अनुसन्धान गर्न प्रयोगशालामा पठाइएको बताउनुभयो ।
किराहरु फोहोर स्थानमा बस्ने भएको हुँदा यसले खाद्यवस्तुमा सङ्क्रमण गर्ने, मानव स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सुरक्षित रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिनुभएको छ । किरा नियन्त्रणका लागि सरसफाईमा ध्यान दिने, गोठ, खाना पकाउने स्थान, शौचालय आदि सफा राख्ने, फ्लाइ ट्र्याप, मच्छरदानी, कीटनाशक विषाधी आदिको प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।