• १९ पुस २०८१, शुक्रबार

महिला टी–२० सिरिज विराटनगरलाई

blog

उपाधि विजेता टोली ।

उर्लाबारी साचारदाता

उर्लाबारी, कात्तिक २६ गते । प्रथम नेपाल हब महिला टी–२० क्रिकेटको अन्तिम खेल पाहुना टोली राजविराजले जितेको छ।

सोमबार भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई आठ विकेटले हरायो  । तीन खेलको सिरिज भने विराटनगरले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । 

नेपाल क्रिकेट फाउन्डेनको आयोजना तथा क्रिकेट विथ बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगिताको अन्तिम दिन टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९९ रन बनाएको थियो ।

विराटनगरका लागि रानु राजवंशीले २२ रन बनाउनुभयो । काजल राजवंशीले १० रन जोड्नुभयो । बलिङमा राजविराजकी सुस्मिता यादवले दुई तथा अपेक्षा यादव, दीपा राम र साक्षी यादवले एक एक विकेट लिनुभयो । 

जितका लागि एक सय रनको लक्ष्य पछ्याएको राजविराजले १७.१ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । राजविराजकी प्लेयर अफ दि म्याच साक्षी यादवले  ५४ बलमा एक छक्का र ६ चौकाको सहयोगमा अविजित ५६ रन बनाउनुभयो । बलिङमा विराटनगरकी सानु राजवंशीले एक विकेट लिनुभयो । 

प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव र उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव घोषित हुनुभयो । विजेतालाई कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डे , मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद सादबावु कुरैसीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।