• ५ मंसिर २०८१, बुधबार

फोर्स गाडी दुर्घटनामा २८ घाइते, ४ गम्भीर

blog

मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त फोर्स गाडी । तस्बिर : वासुदेव शर्मा

बासुदेव शर्मा 

जाजरकोट कात्तिक २६ गते । भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

स्याउली बजारबाट यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको बिचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ । 

उहाँका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चोट लागेको छ । घाइतेको स्वास्थ्य चौकी कुदुमा प्राथमिक उपचारपछि थप उपचारका लागि जाजरकोट अस्पतालमा ल्याइएको छ । मोडमा गाडी अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।