• १२ पुस २०८१, शुक्रबार

सामूहिक आलुखेतीमा आकर्षण बढ्दो

blog

मध्यविन्दु –२ सेरीमा सिर्जनशील कृषक समूहका किसानले लगाएको आलुखेती । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक २६ गते । नवलपुरका किसानहरू सामूहिक आलु खेतीमा आकर्षित भएका छन् । समूहका किसानहरू यतिबेला आलुलगायतमा व्यस्त छन् । जिल्लामा गत वर्षदेखि प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम राम्रो भएपछि किसानको आकर्षण बढेको हो । 

आलु प्रवर्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ । आयातमा कमी ल्याउन गण्डकी प्रदेश सरकारले आलुखेती प्रवर्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो ।

यहाँका धेरै किसान अहिले कृषि कर्मबाट मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै रमाउन थालेका छन् । दुई वर्षसम्म आयातित तरकारीको भर पर्नुपर्ने जिल्ला अहिले आलु खेतीमा आत्मनिर्भर बन्दै गएको छ । नवलपुरका अधिकांश ठाउँमा अहिले किसानलाई आलु लगाउन भ्याइनभ्याइ छ । 

बीउ थोरै रोपेता पनि हिउँदे आलुको राम्रो उत्पादन भएकाले आलु रोप्ने किसान खुसी छन् । मध्यविन्दु नगरपालिका –२ सेरीमा १७ बिघा जग्गा भाडामा लिएर सिर्जनशील कृषक समूहमार्फत सामूहिक रूपमा आलु खेती गर्दै आइरहेको समूहका अध्यक्ष रमेश थनेतले बताउनुभयो । 

सामूहिक रूपमा कृषिमा केही गर्ने उद्देश्यले आलु खेतीमा लागेका किसानलाई बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । जिल्लामा उपयुक्त कोल्ड स्टोर नहुँदा आफूहरूले लगाएको आलु विक्री नभए राख्ने ठाउँ नहुँदा चिन्ता भने हुने गरेको थनेतको भनाइ छ । 

मध्यविन्दु–९ वसन्तपुरका किसान विष्णु कानुङमगरले पाँच कट्ठामा व्यावसायिक आलुखेती गर्नु भएको छ । विगत लामो समयदेखि कृषि क्षेत्रमा रमाउँदै आउनु भएका विष्णुले काँक्रो, टमाटर खेतीसँगै आलुखेती गर्नुभएको छ । प्रशोधनयोग्य आलुको बीउ थोरै रोपेता पनि आलुको राम्रो उत्पादन भएकाले आलु किसान खुसी रहेको उहाँको भनाइ छ ।

जिल्लाका विभिन्न पालिकामा गरेर गत वर्ष समूह–सहकारीमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलुखेती थप विस्तार भएर एक सय ११ हेक्टरमा आलुखेती गर्न लागिएको छ । 

गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागिता जनाएकोमा अहिले सातवटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको प्रमुख तिवारीले जानकारी दिनुभयो । 

गत वर्ष उत्पादन भएको एक हजार नौ सय ९२ मेट्रिक टन आलु बिक्रीबाट किसानले सात करोड ८९ लाख २४ हजार आम्दानी लिन सफल भएको केन्द्रका प्रमुख तिवारीले जानकारी दिनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र नवलपुरले आलु खेती प्रवर्धनका लागि विनियोजित रकमबाट सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको तिवारीले बताउनुभयो । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा आफ्नै देशमा राम्रो आम्दानी गर्न सकिने उहाँको सुझाव छ । 

जिल्लामा उत्पादन हुने आलुको चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्ने गरी व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा २, ३, ९, १०, १२ विनयी त्रिवेणी गाउँपालिकाको वडा २ र ४ हुप्सेकोट गाउँपालिकाको वडा १, २, ३ र ४ कावासोती नगरपालिकाको १३, देवचुली नगरपालिकाको ९, बौदिकाली गाउँपालिकाको २ र बुलिङटार गाउँपालिकाको ३ मा व्यावसायिक आलुखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जानकारी दिनुभयो ।