• १२ पुस २०८१, शुक्रबार

तिलिचोको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–९, खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको शिविरमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।  

बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र ससाना रेस्टुरेन्ट सञ्चालित छन् । बेसक्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेसक्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । 

सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठुलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको बताउनुभयो । 

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१, स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसनमा पु¥याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेसक्याम्पमा पु¥याइएको हो । 

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो । 

मस्र्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुने जनाइएको छ । 

धारापानी सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइनको लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुने छ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।