• १२ पुस २०८१, शुक्रबार

सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबारबाट छ दिवसीय ‘सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ । कार्यशालाको मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गर्दै प्रदेशका विभिन्न मूर्तिकलाको विकास, संरक्षण, प्रवर्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले परम्परा, संस्कृतिको संरक्षणका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले मोफसलको संस्कृतिलाई केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गरी यसको ज्ञानलाई समाजसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यता सामाचकेवाको माहोल पनि छ । प्रतिष्ठानले यस प्रदेशको संस्कृतिसँग जोडिएको सामाचकेवा पर्वको ज्ञान नयाँ पुस्तामा पनि पुस्तान्तरण हुन आवश्यक छ ।”

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले परम्परागत लोकसंस्कृतिका रूपमा मधेश प्रदेशमा बनाइँदै आएको सामाचकेवा मूर्तिकलाको प्रवर्धनको उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्राज्ञ एससी सुमन, विजयमणि दत्त, रुवि झा र योगेन्द्र पण्डितलगायतको सहभागिता रहेको छ । कार्यशाला कात्तिक ३० गतेसम्म चल्ने छ ।