• २१ मंसिर २०८१, शुक्रबार

ताप्लेजुङमा उपनिर्वाचनको सरगर्मी बढ्दै

blog

उपनिर्वाचन हुने सिँकैचामा नेपाली कांग्रेसले निर्वाचनलक्षित कार्यक्रम गर्दै । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।

सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गृहकार्यमा जुटेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् ।

सम्बन्धित वडाको वस्तुस्थितिअनुसार उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले जनाएको छ । शनिबार काँग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङसहितका पदाधिकारीको टोली सिकैँचा पुगेर उपनिर्वाचन लक्षित कार्यक्रम गरेको छ । वडाभित्रको तत्कालको अवस्थाबारे जानकारी लिन र आफ्नो पार्टीतिर चुनावी माहौल बनाउनलाई पदाधिकारीसहितको टोली सिकैँचामा पुगेको जिल्ला सभापति तुम्याहाङले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङले पनि पार्टीले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको बताउनुभयो । एमालेको पक्षमा माहौल रहेको र सोहीअनुसार निर्वाचित तयारीलाई अगाडि बढाइरहेको सचिव चाम्लिङको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले पनि आन्तरिक रूपमा चुनावको तयारी गरिरहेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो । 

सकेसम्म ठुला दललाई पराजित गर्नेगरी तयारीमा जुट्दै आएको बुढाक्षेत्रीले बताउनुभयो । दलहरूले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परामर्श गर्नेजस्ता गतिविधि सुरु गरेको छन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई दिलप्रसाद बोखिम निर्वाचित हुनुभएको थियो । बोखिमले वडाध्यक्ष पदबाट राजीनामा दिएपछि सिकैँचामा उपनिर्वाचन हुन लागेको हो ।