उर्लाबारी समाचारदाता
उर्लाबारी, कात्तिक २५ गते । नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।
विराटनगर हब महिला टिम र राजविराज हब महिला टिमबिच तीन खेलको टी–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता लिएको छ । अन्तिम खेल सोमबार हुनेछ ।
आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले हरायो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९.४ बलमा सबै विकेट गुमाई एक सय १२ रन बनाएको थियो । विराटनगरका लागि प्रिन्सा मगरले २८ रन जोड्नु भयो ।
यस्तै काजल राजवंशीले २० रन, टीका साहले १६ रन र सानु राजवंशीले १२ रनको योगदान गर्नुभयो । राजविराजकी अपेक्षा यादव र साक्षी यादवले समान तीन तीन विकेट लिनुभयो ।
एक सय १३ रनको जबाफी ब्याटिङ गरेको राजविराज ९.५ बलमा सबै विकेट गुमाई ४२ रनमा समेटियो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कको स्कोर बनाउन सक्नुभएन । विराटनगरकी प्लेयर अफ दि म्याच टीका साहले चार विकेट लिनुभयो । त्यस्तै सुवेक्षा लिम्बुले दुई विकेट लिनुभयो ।