शशिधर पराजुली
विराटनगर, कात्तिक २५ गते । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।
प्रहरीले विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको हो ।
पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसो १ः५० को उडानबाट काठमाडौँ लैजाने तयारी गरिएको छ ।
सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो ।
काठमाडौंबाट खटिएको प्रहरी टोली र मोरङ प्रहरी उपरीक्षक नारायण चिमौरियाको नेतृत्वमा पक्राउ गरिएको हो ।