• १० मंसिर २०८१, सोमबार

‘डेंगु सङ्क्रमण बर्सेनि बढ्दै’

blog

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन

काठमाडौँ, कात्तिक २२ गते । डेंगुको सङ्क्रमण बर्सेनि बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा बर्सेनि डेंगु सङ्क्रमण बढिरहेको उनीहरूको दाबी छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम सङ्क्रमित फेला परेका छन् । तर सङ्क्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगु प्रस्तुत भइरहेको बताउनुभयो । उहाँले आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने जानकारी दिनुभयो । उहाँले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताउनुभयो ।

काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरू हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका सङ्क्रमितहरूमध्ये ५० प्रतिशत सङ्क्रमित फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा सङ्क्रमण भएको सरकारको तथ्याङ्क छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले कोभिड सकिएपछि डेंगु झनै घातक भएर आएको र आगामी वर्षहरूमा महामारीको रूप लिनसक्ने चेतावनी दिनुभयो । डेंगुले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उहाँको छ ।

आगामी वर्ष हाम्रा लागि चुनौतीपूर्ण छन्

विगतको तथ्याङ्कलाई आधार मान्ने हो भने डेंगुको सङ्क्रमण दर बर्सेनि बढ्दो छ । बर्सेनि प्रकोप सँगसँगै सङ्क्रमितको सङ्ख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ । सीमित ठाउँमा देखिने गरेको डेंगु अहिले हरेक ठाउँमा देखिन थालेको छ ।

कोभिड सकिने बित्तिकै डेंगु झन् घातक रूपमा प्रस्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगु प्रस्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरू हाम्रा लागि चुनौतीका वर्षहरू छन् ।

संवेदनशील मानिस सङ्क्रमणमा परेका छन्, डेंगु नियन्त्रणमा लागौँ

डेंगुको सङ्क्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ । संवेदनशील मानिसहरू बढी सङ्क्रमणमा परिरहेका छन् । यसमा ज्येष्ठ नागरिक, दीर्घरोगीहरु संवेदनशील समूहमा पर्छन् ।

सङ्क्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक स्वरूपमा प्रस्तुत भइरहेको अवस्था छ । डेंगु आगामी दिनमा घातक महामारीको रूपमा आउने अवस्था देखिन्छ । अहिलेदेखि नै हामीले डेंगु नियन्त्रणमा लाग्नुपर्छ । क्याम्पेनहरु गर्नुपर्छ । तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन ।

डेंगुलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन्

कतै न कतैबाट प्रचारप्रसार भई नै रहेको छ । तर गम्भीरताका साथ हामी सर्वसाधारणले नलिएको हो की भन्ने मेरो बुझाइ छ । कति बेला लिने ? अहिले नलिए कहिले लिने ? यो प्रश्न छ । प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रूपमा अघि बढाउनुपर्छ । जति गरे पनि भएन भन्ने नभई अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ ।

आक्रामक प्रचारप्रसार गरौँ

पछिल्लो समय सर्वसाधारणले डेंगु सङ्क्रमणलाई खासै वास्ता गरेको देखिएन । शून्य मृत्युदरको लक्ष्य हामीले राख्नुपर्छ । सङ्क्रमण नै नहुनका लागि सम्भवतः सर्वसाधारणको तर्फबाट पनि चासो नदिएको अवस्था र सरकारबाट पनि आक्रामक प्रचारप्रसारका लागि ध्यान नदिएको अवस्था छ । यो रोग फैल्याउनेलाई कसरी टार्गेट गरेर नष्ट गर्ने, लामखुट्टेको लार्भालाई ? भन्नेकुरामा सर्वसाधारणले त्यति चासो दिएको छैन । यस्ता रोगहरू फैलिनुको एउटा मुख्य कारण छिटो बेवास्ता गर्नु पनि हो ।

डेंगुबाट विश्व नै प्रभावित हुँदैछ

डेंगुबाट नेपाल मात्रै नभई विश्व नै प्रभावित हुनेवाला छ । नेपालले चाह्यो भने रोल मोडलको रूपमा काम गर्नसक्छ की भन्ने मेरो एउटा सोच थियो । हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ । डेंगुबारे हेलचेक्र्याइँ छ । तर तारन्तार वान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ । थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस् । त्यो डेंगीको चेतावनी हो ।