• १२ पुस २०८१, शुक्रबार

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् : राष्ट्रिय सभाका अध्यक्ष दाहाल

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार सँगसँगै नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको बताउनुभयो ।

शनिबार तिहार तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष दाहालले नेपालमा सङ्घीयता लोकतान्त्रिक गणतन्त्रको सुरुवातसँगै नेपाल संवतले राष्ट्रियत मान्यता भएको कुरा स्मरण योग्य भएको बताउनुभयो ।

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशर्क गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योग्दान प्रेरणादायी भएको उहाँको भनाइ छ ।’’

उहाँले भन्नुभयो, ‘‘तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा आफ्नै विशिष्ट महत्व छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा र गाई तिहार, गोवर्द्धन पूजाले मानव, प्रकृति र पशुपन्छीसँगको गहिरो सम्बन्धलाई उजागर गरेको छ भने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको माया, प्रेम र हार्दिकता प्रगाढ बनाउनुका साथै पारिवारिक मिलन र एकता वृद्धि गर्न विशिष्ट योगदान दिएको छ । तिहारमा खेलिने देउसी भैलो लगायतका सांस्कृतिक कार्यले उल्लासमय वातावरण बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’’

यसैगरी, अध्यक्ष दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको छ । यी विविधतायुक्त संस्कार, संस्कृति एवम् चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत हुन् ।’’

साथै अध्यक्ष दाहालले नेपालीहरूको विशेष पर्व तिहार एवम् नेपाल संवत् ११४५ शुभारम्भको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवम् प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।