• १५ कात्तिक २०८१, बिहिबार

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

blog

गलकोट (बागलुङ), कात्तिक १५ गते । जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ । 

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकार स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो । 

बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आउनुभएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताउनुभयो । 

एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आउनुभएकी उहाँले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गर्नुभयो । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । 

“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौँ । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ”, श्रेष्ठले भन्नुभयो, “यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।”

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यसपटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ मिसाउन बन्द गरिएको उहाँले उल्लेख गर्नुभयो ।

श्रेष्ठले दसैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु. चारदेखि रु. छ लाख आम्दानी हुने जानकारी दिनुभयो । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उहाँले बताउनुभयो । रासस