• १० मंसिर २०८१, सोमबार

कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक: प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौं, १४ कार्तिक। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो कम्युनिस्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौँ। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौँ। अनि बल्ल कम्युनिष्ट पार्टीहरूको बिचमा आत्मसीक्षा गरौँ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरूले क्रान्तिलाई किन सही रूपले अघि बढाउन सकेनौँ र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई सङ्घर्षकै रूपमा अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो।

‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘म आदर्शको रूपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरूलाई अपिल गर्न थालेको हुँ।’ क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरूमा एकता, रूपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो।

‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौँ तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरूलाई परास्त गर्न सकिँदैन’– उहाँले भन्नुभयो– ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समाजवाद अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्‍यौँ। सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो। अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि सङ्घर्ष गरौँ। त्यही सङ्घर्षको बिचमा रूपान्तरणसहितको एकताको थालनी गरौँ।’

कम्युनिस्ट घटकबिचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो, ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरू मिल्ने जति मिलौँ, मिल्न नसक्नेले मोर्चा बनाऔँ, त्यो पनि नसके कार्यगत एकता गरौँ। त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौँ।  त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिँदै जान्छन्।’

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताउनुभयो। 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिस्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभयो। नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिस्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरूबिचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उहाँको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो।