• २ माघ २०८१, बुधबार

छठ घाट निर्माण सुरु

blog

छठपूजाका लागि छठ घाट निर्माण गरिँदै ।

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक १३ गते । तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ । यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ । 

छठ पर्व आउन एक साताभन्दा बढी समय बाँकी रहँदा सर्लाहीमा २० वटै पालिकामा जलाशय किनार सरसफाइ गरी धमाधम छठ घाट निर्माणको काम भइरहेको स्थानीयले बताएका छन् । छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठ घाट निर्माणको काम अगाडि बढाएको छ । 

प्रायः ठाउँमा छठ घाटमा बाँसको खट बाँध्ने, बत्ती जडान गर्ने, टेन्ट राख्नेलगायत कामका लागि वडा कार्यालयले सहयोग गर्ने गरेका छन् । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले आफ्नो वडाभित्र दुई ठाउँमा छठपूजा हुने गरेको र दुवै ठाउँमा छठ घाट निर्माण गर्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले नै बेहोर्ने बताउनुभयो । वडाध्यक्ष कार्कीका अनुसार लालबन्दी ७ मा डुमडुमे मन्दिर र मन्दिरदेखि दक्षिण वडा नं. ७ र ९ को सीमामा पर्ने डुमडुमे खोलामा छठ घाट निर्माणको काम सुरु भइसकेको छ । 

छठ घाट आसपास सरसफाइ गर्ने कामका लागि वडाबाटै मजदुर खटाइएको वडाध्यक्ष कार्कीले बताउनुभयो । अधिकांश स्थानमा दीपावलीअघि नै छठ घाट तयार पार्र्ने गरी तयारी भइरहेको स्थानीयले बताएका छन् । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले छठ घाट तयार पार्न नगरपालिकाबाट जेसिबी पठाउने गरिएको र अन्य सरसहयोग वडाबाट हुँदै आएको बताउनुभयो । 

बरहथवाका १८ वटा वडाको सयभन्दा बढी स्थानमा छठ घाट निर्माण गरेर छठपूजा हुने नगरप्रमुख कटुवालले जानकारी दिनुभयो । छठपर्वमा व्रतालुले छठको मुख्य दिन सँझिया घाट अर्थात् छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने प्रचलन रहेको छ । व्रतालुहरू अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन् । 

यसैबिच पर्वका लागि ग्रामीण महिला घर लिपपोत र सरसफाइमा व्यस्त हुन थालेका छन् । महिलाहरू घरआँगन सरसफाइदेखि पर्वका लागि आवश्यक सरसामग्री जुटाउने व्रmम सुरु भएको बसबरिया गाउँपालिका–१, मानपुरका विनयकुमार राय यादवले बताउनुभयो । 

जिल्ला सदरमुकाम मलङ्गवासहित बयलबास, बरहथवा, हरिपुर, लालबन्दी, हरिवन, नवलपुर जस्ता मुख्य बजारमा दीपावली र छठमा प्रयोग हुने सरसामग्रीको किनबेच बढ्न थालेको छ । तुलनात्मक रूपमा सस्तो पर्ने भन्दै सीमावर्ती क्षेत्रका बासिन्दा दीपावली र छठमा प्रयोग हुने सरसामग्री किन्न सीमापारि भारतीय बजारसम्म पुग्न थालेका छन् । गोरखकाली, त्रिभुवननगर, सङ्ग्रामपुर, खुटौना, भाडसर, फेन्हरा, बलरालगायतका नाकामा मानिसको आवतजावत बाक्लिन थालेको छ । जिल्लाका डोम समुदायलाई छठमा प्रयोग हुने बाँसका सामग्री बनाउने चटारो छ । 

माटाको भाँडा बनाउनेलाई पनि दीपावली र छठमा राम्रो व्यापार हुने हुँदा भाँडा निर्माण गर्ने काममा व्यस्तता बढेको देखिन्छ । छठ नजिकिँदै गर्दा जिल्लाका पोखरी, नहर, खोला किनारलगायतका जलाशयको सरसफाइका काम अगाडि बढेको छ ।