• १२ कात्तिक २०८१, सोमबार

‘जनताको स्वास्थ्यमा समाजको स्वास्थ्य निर्भर छ’

blog

कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारी । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी

धादिङ, कात्तिक १२ गते । नेपाल सरकार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आम जनताको स्वास्थ्य अवस्था स्वस्थ नभए सिङ्गो समाज स्वस्थ नहुने बताउनुभएको छ । 

ज्वालामुखी गाउँपालिका वडा नं ६ लाई स्वच्छ र सफा वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको संविधानमा उल्लेख भएको जनताको स्वास्थ्य सेवाप्रतिको नैसर्गिक अधिकार र जनताले पाउने सेवा सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो घर, समुदाय सरसफाइमा सबै व्यक्ति लाग्नुपर्ने बताउनुभयो । घर र समुदाय वरपरको वातावरण स्वच्छ नहुँदा हामीले खाने पानी र खाना अस्वस्थ हुने जसका कारण हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने मन्त्री अधिकारीले बताउनुभयो । अस्वस्थ मान्छे मुलुकका लागि योगदान दिन नसक्ने बताउँदै सफा गाउँले त्यस समाजको पहिचान दिने उहाँको भनाइ छ ।    

स्वास्थ्य, सरसफाइ तथा स्वच्छताको ५ वटा व्यवहार, १५ वटा सूचक र ४५ वटा उपसूचक पूरा गरेर आइतबार नमुना सफा र स्वच्छ वडा घोषणा गरिएको छ । वडाको आयोजना, सामुदायिक रूपान्तरण समाज नेपाल, शान्ति नेपाल, ज्वालामुखी गाउँपालिका र ज्वालामुखी ग्रामीण खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको सहयोग तथा साझेदारी र समन्वयमा वडालाई सफा तथा स्वच्छ वडा घोषणा गरिएको हो । 

खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत २०७६ माघ २९ गते सोही वडाको केही टोल बस्तीबाट धादिङ जिल्लामा नमुना सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले पछिल्लो २ वर्ष यता खानेपानी र सरसफाइ क्षेत्र हेर्नका लागि खानेपानी र सरसफाइ व्यवस्थापन बोर्ड स्थापना गरी बोर्ड मोडलमार्फत अभियान प्राथमिकताका साथ अगाडि बढाएको छ । 

ग्रामीण भेगमा सञ्चालित बोर्ड मोडलमार्फत खानेपानी र सरसफाइलाई समानान्तर रूपमा सञ्चालन भएको यो पहिलो मोडल र अभियान हो । जिल्लाको पहिलो स्वच्छ सफा वडा रूपमा गंगाजमुना गाउँपालिका –३ लाई यसअघि नै घोषणा गरिएको थियो ।

पालिकामा हालसम्म २०२० घरधुरी सफा र स्वच्छ घोषणा भइसकेका छन् । यस्तै, एक हजार ४९ घरधुरी घोषणाको तयारीमा छन् । गाउँपालिकामा ६ हजार ७९ घरधुरीमध्ये ३ हजार २२० घरधुरीमा अभियान सञ्चालन गरी २०८२ सालभित्र सफा तथा स्वच्छ गाउँपालिका र एक घर एक मिटरसहितको धारा रहेको गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष यमनाथ दनैको भनाइ छ । 

यसका लागि गाउँपालिका भित्रका घरधुरीहरूमध्ये ५० प्रतिशतले सुरक्षित खानेपानी प्रयोग गरिरहेका छन् भने झन्डै ८० प्रतिशत घरधुरीमा एक घर एक धारा निर्माण भइसकेका छन् । तर निर्मित भएका संरचनाको व्यवस्थापन र दिगो सञ्चालनका लागि थुप्रै कार्यहरू गर्न बाँकी रहेको अध्यक्ष दनैको भनाइ छ ।

समग्रमा यो अभियान सरकारले तय गरेको नीति अवलम्बन गर्ने स्थानीय तह र आम नागरिकको प्रमुख जिम्मेवारी हो । सरसफाइ र स्वच्छताका व्यवहार पूरा गर्दा आम नागरिकहरूको व्यक्तिगत स्वच्छतामा सकारात्मक सुधार आउने विश्वास गरिएको छ ।