• १२ कात्तिक २०८१, सोमबार

घोडा चढेर मुक्तिनाथ पुग्दै पर्यटक

blog

घोडा चढेर मुक्तिनाथ जाँदै गरेका पर्यटक । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक १२ गते । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेपछि पर्यटकलाई घोडा चढ्ने रहर हुन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने रानीपौवादेखि मुक्तिनाथ मन्दिर पुग्न करिब २० मिनेट जति हिँड्नुपर्छ । 

सवारीसाधनबाट रानीपौवा पुगेका पर्यटकदेखि तीर्थालुहरुको रहर घोडा चढेर मुक्तिनाथ पुग्ने हुन्छ । पर्यटकको सुविधाका लागि यहाँ एकसय २० घोडा छन् । घोडा व्यवसायीले आपसी सहमतिमा आलोपालोे व्यवस्था मिलाएका हुन्छन् । रानीपौवादेखि मुक्तिनाथको प्रवेशद्वारसम्म घोडामा हिँडेको  प्रतिव्यक्ति चारसय रुपियाँ शुल्क तोकिएको छ । 

घोडामा चढेर मुक्तिनाथ क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गर्न पाइने भएकाले पनि घोडा चढ्ने पर्यटकको चाहना हुन्छ । घोडा चढेर यात्रा नगर्नेहरुले एकसय रुपियाँ तिरेपछि फोटो र भिडियो खिच्न पाइन्छ । सिजनका समयमा घोडा चढेर मुक्तिनाथ पुग्नेको निकै भिडभाड हुने घोडा व्यवसायी पेमा गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘सिजन चलेको बेला बिहानैदेखि साँझसम्म नै घोडा चढ्नेको भिड हुन्छ । पर्यटकको चाप बढेकाले अहिले खाना, खाजा खाने फुर्सद पनि छैन ।’’ घोडा चढ्नेहरुमा बालबालिका, विदेशी पर्यटक र युवायुवती धेरै भएको उहाँले बताउनुभयो । 

रानीपौवादेखि लामो दूरी नभए पनि पर्यटक रहरले घोडा चढ्ने गर्दछन् । केही तीर्थयात्रीहरु उकालोमा हिड्न नसकेर पनि घोडा चढ्ने गरेको गुरुङको भनाइ छ । यहाँ आएपछि घोडामा चढेर फोटो, भिडियो खिच्नलाई मात्र रहर लागेर एकसय रुपियाँ  तिरेर घोडा चढेको बेनीबाट मुक्तिनाथ दर्शनका लागि पुग्नुभएकी रीता पौडेलले बताउनुभयो । यो सिजनमा दैनिक ४ देखि पाँच हजार पर्यटक मुक्तिनाथ पुगेका छन् ।