• १२ कात्तिक २०८१, सोमबार

तिहार लक्षित विद्युतीय बजार: लक्ष्य ६० करोड, व्यापार ३० करोड

blog

काठमाडौँ, कात्तिक १२ गते । तिहार वर्षको एक पटक मात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरूको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरू छन् । तर विगतका वर्षभन्दा यस वर्ष ग्राहकहरूको माग कम आएको व्यवसायीहरू बताउँछन् । माग कम आएसँगै पसलको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीलाई छ । न त माग बढेको छ न त भनेजस्तो व्यापार ।

गत सालकै विद्युतीय सामग्रीहरू विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरूको भनाइ छ । तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरू विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरूको छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेसमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकाताबाट वीरगन्ज नाका हुँदै भारतबाट आउने सामानहरू आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाए पनि काठमाडौँ केन्द्रित बजार हुने निश्चित भएको उहाँको भनाइ छ । महासङ्घले यस वर्षको तिहारमा ३० करोडसम्मको सामान बिक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरूमा ५० देखि ६० करोडको बजार तिहारमा हुने गरेको बताउनुभयो । 

‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ । कलकत्ताबाट वीरगन्ज हुँदै आउने सामानहरू लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरू बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन ।’ उहाँ भन्नुहुन्छ, ‘त्यस कारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५-३० करोडको सामान आउँछ कि भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०-६० करोडको मार्केट हो ।’

अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरू विक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ कि भन्ने त्रास व्यवसायीहरूको रहेको बताउनुभयो । कन्स्ट्रक्सनका कारण राम्रो व्यापार हुने भए पनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्सनको काम नेपालमा कम हुँदै गएको उहाँले बताउनुभयो । उहाँले कोभिडपछि नेपालको बजार सङ्कुचनमा रहेको बताउनुभयो । व्यवसायीहरूसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले व्यवसायीहरू ल्याएर फसिन्छ कि भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहित छैनन् । विगतमा कन्स्ट्रक्सन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार सङ्कुचनमा छ, रिकभर भइसकेको छैन । तातोपानी नाका केही दिनमा खुल्ने भन्ने छ । त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौँ केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ । सबै व्यवसायीसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ ।’

नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्दछ । त्यसमाथि पनि चीनबाट धेरै आउँछ । तेस्रो मुलुकबाट केही सामग्री मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउनुहुन्छ । तिहारको बेलामा माला बत्तीहरू ल्याइने गरेको तर तिहारमा भन्दा विद्युतीय सामग्रीको व्यापार गर्नेहरूलाई दसैँअघि धेरै व्यापार हुने बताउनुभयो । अहिले युवा जनशक्ति कम हुँदा त्यो व्यापार हराउँदै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चीन र भारतबाट सामानहरू धेरै ल्याउँछौँ । बाँकी केही सामग्रीहरू तेस्रो मुलुकबाट ल्याइन्छ । हामी चीन र भारतसँग निर्भर छौँ । तिहारको बेलामा माला बत्तीहरू ल्याइन्छ । हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भिडभाड हुन्छ, माला बत्ती किन्नुहुन्छ । रमाइलो हुन्छ । तर हाम्रो खास क्वालिटीको हिसाबको व्यापार भनेको दसैँमा हो । दसैँको बेलामा एउटा ग्राहकले ४०-५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो ।’

सुनधाराका विद्युतीय सामग्रीहरूको व्यापार गर्दै आउनुभएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभयो । नेपालीहरू अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आस रहेको बताउनुभयो । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरूले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामर्थ्य नरहेको हुनसक्ने अनुमान उहाँको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरू अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन । मलाई जहाँसम्म लाग्छ, सहकारीले पैसा जुन अपचलन गरेको छ नि, त्यसको असर हामी नेपाली जनतामा परेको जस्तो मलाई लाग्छ । किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो । मुख्य कारण पैसाको अभाव नै हो । पोहोर साल ठिकै व्यापार थियो । अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन । सामान त जसरी पनि आउँथ्यो होला तर डिमान्ड नै छैन ।’

बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उहाँको भनाइ छ । सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आउनुभएकी सङ्गीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउनुहुन्छ । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उहाँको भनाइ छ । प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरूको डिमान्ड आउने भए पनि युवा जनशक्तिहरू बाहिर रहेकाले खासै माग नरहेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महसुस हुने गरेको बताउनुभयो । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उहाँको गुनासो छ । 

उहाँले भन्नुभयो, ‘व्यापार अहिले त्यति छैन, अब एक दुई दिनमा होला । व्यापार भनेर त्यत्ति पहिला जस्तो अब तिहार आयो भनेर लगातार मान्छे आउने छैन । तिहारको सामानहरू यहाँ भन्दा बाहिर जिल्लाबाट अर्डर आइरहेको छ । त्यो अलिअलि पठाइरहेका छौँ । अहिले टेक्नोलोजीको जमाना भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने खोज्छन् । त्यो सामानहरू प्रोभाइड त हुँदैन । सकेसम्म प्रोभाइड गरेर ग्राहकहरूलाई खुसी बनाउने प्रयासमा छौँ । यो मन्दीका कारण होला पहिलाभन्दा अलि कम जस्तो लाग्छ ।’

नेपालमा अहिले वृद्ध वृद्धा र बालबालिकाहरू मात्रै रहेको उहाँको ठम्याइ छ । नयाँ इनोभेसन चाहिने युवाहरू बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको बताउनुहुन्छ । वार्म लाइटको माग यस वर्ष बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्रायःजस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै बिदेसिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरूलाई चाहिन्छ, युवाहरू देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमान्ड छ ।’

व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउनु हुन्छ । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरू नआएको हुन सक्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ, ‘दीपावलीका लागि व्यापार कम नै छ । हुन त समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ ।’

व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कात्तिक लागेपछि विद्युतीय सामग्रीको व्यापार बढेको बताउनुभयो । बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उहाँको भनाइ छ । विद्युतीय सामग्रीहरूको बजार मूल्य भने विगतको सरह नै रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ ।’

अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउनुहुन्छ । पहिलाको भन्दा ६०÷७० प्रतिशतले व्यापार कम रहेको बताउनुभयो । देशको आर्थिक अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हनु सक्ने बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विगतका वर्षहरूमा भ्याइनभ्याइ हुने व्यवसायीहरू अहिले खाली रहेको बताउनुभयो । उहाँले सरकारले विद्युतीय सामग्रीको व्यापार गर्नेहरूमाथि ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा अहिले व्यापार छैन । व्यापार एकदमै छैन । देशको आर्थिक अवस्थाले हो कि के हो । पहिलाको भन्दा ६०÷७० प्रतिशतले घटेको छ । तिहारको समयमा पनि हामी खाली छौँ । विगतका वर्षहरूमा भ्याइनभ्याइ हुन्थ्यो । सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन ।’

व्यवसायी राज नेपालले व्यवसायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताउनुभयो । उहाँले तुलनात्मक रूपमा यस वर्ष व्यापार कम रहेको बताउनुभयो । उपभोक्ताहरू र व्यवसायीहरूमा पनि उत्साह नपाएको बताउनुभयो । सरकारले व्यवसायीहरूलाई बचाउने काम गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘व्यापारीहरूलाई व्यापार नभएर चिन्ता छ । तुलनात्मक रूपमा यस वर्ष व्यावसायिक रूपमा र अरू हिसाबले पनि खासै उत्साह छैन । यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो । तर अघिल्ला वर्षहरूको जस्तो ठुलो चाप छैन । व्यवसायीहरूलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ । बजारमा चहलपहल गर्ने काम गर्नुपर्छ । यस्तै अवस्था भइरहे व्यवसायीहरू धेरै पलायन हुने अवस्था आउँछ ।’

व्यवसायी नेपालले बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तै अवस्था भइरहे व्यवसायीहरू केही समयपछि आफैँ पलायन हुने बताउनुभयो । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरूको माग धेरै कम छ । ग्राहकहरू पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरू बताउँछन् ।