• १२ कात्तिक २०८१, सोमबार

माथिल्लो तामाकोशी पुनर्निर्माणलाई दुई अर्ब लाग्ने

blog

क्षति पुगेको विद्युत् केन्द्रको पानी थिग्राउने पानी पोखरी । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, कात्तिक १२ गते । गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगर स्थितको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणका लागि करिब दुई अर्ब लाग्ने भएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक अर्ब ८० करोड करोड खर्च लाग्ने केन्द्रका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीबाट भएको क्षतिका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई एक अर्ब ७९ करोड छ लाख ९६ हजार ७८५ रुपियाँ बराबरको बिमा दाबी गरिसकिएको छ । पुनर्निर्माणको विस्तृत डिजाइनको काम एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । पुनर्निर्माणका लागि मात्रै नौ महिना लाग्ने अनुमान गरिएको छ ।

बाढी पहिरोले केन्द्रको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ भने सिभिल तथा हाइड्रो इलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोडभन्दा बढी र कात्तिक महिनामा पनि सञ्चालन हुन नसके २१ करोडभन्दा बढी बराबरको घाटा भएको अनुमान छ । आगामी मङ्सिरदेखि प्लानिङ साइटबाट केही विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँको भनाइ रहेको छ ।

हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेग्रान हटाउने काम अघि बढेको र आंशिक विद्युत् उत्पादन गर्न पहल भइरहेको छ । केन्द्रका प्रमुख प्रबन्धक रञ्जितले प्लानिङ साइटमा रहेका ढुङ्गा र थुपारेको स्प्रे हटाउने काम एसएस सिई हाइ हिमालयन इन्जिनियरिङ जेभीले गरिरहेको छ ।