• १२ मंसिर २०८१, बुधबार

दीपावलीमा जम्छ रङ्गीन डोरीको बजार

blog

लहान समाचारदाता

लहान, कात्तिक ११ गते । तिहारमा गोवर्धन पूजाका दिन गाईभैँसी तथा बाख्रालाई नयाँ रङ्गीन डोरी लगाउने चलन छ । त्यसका लागि सिराहा नरहा–१, देवीपुरका तत्मा समुदाय बजारमा नयाँ डोरी गर्दामी (गाईवस्तुको घाँटीमा बाँध्ने) बेच्न व्यस्त छन् । 

लहानको मुख्य चोकमा डोरी बेचिरहेका लालचन्द्र दास, शिवु दास र परशुराम दासले वर्षमा एक पटक जमेर चल्ने यो पुख्र्यौली पेसालाई जीवन्तता दिइरहनुभएको छ । साथै यसको बिक्रीबाट केही आम्दानी गर्न सकिन्छ कि भने उद्देश्यले सिराहाको लहान, गोलबजार र मिर्चैया बजार क्षेत्रमा त्यस गाउँका दुई दर्जन युवा अहिले यस व्यापारमा लागेको बताउनुभयो ।

“केही दशकपहिले दीपावलीको समयमा प्रतिघर ५० हजारभन्दा बढी आम्दानी गर्दथ्यौँ । अहिले १०–२० हजार कमाइ गर्न पनि मुस्किल भइरहेको 

छ,” ७० वर्षीय लाभन्द दासले सुनाउनुभयो, “पुख्र्यौली पेसा भएकाले छाड्न सकिएको छैन । पशुपालन ह्वात्तै घट्यो । किसानले गोरुको सट्टा ट्याक्टरबाट खेती गर्न थालियो । गाउँघरमा पश् पाल्ने मानिसको सङ्ख्या घटेपछि हाम्रो व्यापार सङ्कटमा पर्न गइरहेको छ ।” गाईभैँसी र बाख्राको सनपाटको डोरी वर्षभरिका लागि खरिद गर्ने किसान हार्डवेयर पसलमा पाइने प्लास्टिकको डोरी प्रयोग गर्न थालेपछि दीपावलीबाहेक अन्य समयमा आफूहरूबाट खरिद गर्नेहरू नभएको उहाँ बताउनुहुन्छ । 

डोरी र गुन्द्री बुनेर वर्षभरि कमाइ भइरहने तत्मा समुदायको पेसा सङ्कटमा परिसकेको परशुराम दासले बताउनुभयो । “सनपाटको खेती पनि गर्न किसानले छाडेपछि दीपावलीको डोरी बनाउन सप्तरीको कञ्चनपुरबाट सनपाट ल्याएर एक महिनाअघिदेखि रङ्गीन डोरी बनाएर बेच्दा हरेकले २० हजारसम्मको कमाइ गर्ने आस छ,” उहाँले सुनाउनुभयो । 

तत्मा समुदायबाट प्रदेश सभाका सदस्य रहनुभएकी ललिता दासले दलित समुदायले गुजारा गर्ने पुख्र्यौली पेसा सङ्कटमा परिरहेकाले पेसालाई जोगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार ट्याक्टर, जेसिबी आएपछि माटो समाउने मुसहर समुदायको पेसा हरायो नै । मुसहर समुदायको घरमा टाला र कोदालीसमेत देखिँदैन । यसै गरी तत्मा समुदायको गुन्द्री र डोरी बनाउने पेसा पनि प्लास्टिकको डोरीले खाइदियो । यस विषयमा प्रदेश सरकारको ध्यान केन्द्रित आफूले पटक पटक गराइरहे पनि कुनै वैकल्पिक रोजगारी दिइने काम भइरहेको छैन । 

कुम्हार, मल्लाह, तमाङ्ग र डुम समुदायले पुख्र्यौली पेसा दीपावली, छठ र धार्मिक कार्यमा प्रयोग हुने माटो र बाँसजन्य सामग्री जसोतसो टिकेको दलित अगुवा नेनीलाल रामले बताउनुभयो । उहाँले थप्नुभयो, “पुख्र्याैली पेसाको संरक्षण गरिदिन कुनै पनि कार्यक्रम तिनै तहको सरकारको प्राथमिकतामा नहुनु चिन्ताको विषय बनिरहेको छ ।”