• ४ वैशाख २०८१, मङ्गलबार

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण : भवन शिलान्यासदेखि सभाहल उद्घाटनसम्म

blog

सोमबार उद्घाटन हुने नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हल।

लुम्बिनी, जेठ १ गते। परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लुम्बिनी भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। 

२५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा सोमबार बिहानै प्रधानमन्त्री मोदी भारतको कुसिनगर हुँदै विशेष विमानमा लुम्बिनी आउनुहुने छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार भारतीय प्रधानमन्त्री मोदी सोमबार ६ घण्टा लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुभएपछि स्वदेश फर्किनु हुनेछ। 

नेपाल सरकार परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष, प्रदेश सरकार र स्थानीय सरकारसमेत भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तयारीमा जुटेका छन्। लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने सभाहलको सम्पूर्ण तयारी पुरा भएको छ। 



भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेश्नल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यासकोसमेत तयारी पुरा भएको छ।  हेरिटेजको नेपाल र भारतका दुवैजना प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ।  साथै प्रधानमन्त्री देउवाले लुम्बिनीमै नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। 

भ्रमणकै अवसरमा शैक्षिक, संस्कृति एवं प्राविधिक विषयमा सहकार्य सम्बन्धी पाँच वटा बेग्लाबेग्लै समझदारीमा पत्रमा दुई देशका प्रधानमन्त्री बीच हस्ताक्षर हुनेछ। लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सीएनएस) त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसीसीआर)बीच सम्झौता हुनेछ। साथै काठमाडौं विश्वविद्यालयसँग नेपाल एण्ड द इन्डियन इन्स्टीच्यूट अफ टेक्नोलोजी मदरासबीचसमेत सम्झौता हुनेछ। 



प्रधानमन्त्री मोदी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्सीय टोलीसहित सोमबारनै स्वदेश फर्किनुहुनेछ। 


  

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।