• ९ माघ २०८१, बुधबार

चीनको ग्रामीण विकासमा डिजिटल प्रविधि

blog

चीनमा ‘डिजिटल प्रविधिको विकास’ ग्रामीण क्षेत्रका लागि एक महत्वपूर्ण अङ्ग बनेको छ । ग्रामीण भेगका किसान अब डिजिटलमा रमाउन थालेका छन् । डिजिटल प्रविधिको अधिकतम प्रयोग गरेर आफ्नो उत्पादन तथा आम्दानीमा बढोत्तरी गरेका छन् । १४ अक्टोबर २०२४ मा चीनको बेइजिङमा भएको ‘डिजिटल रुलर इनोभेसन’ प्रतियोगितामा चीनको ग्रामीण विकासमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी विभिन्न अध्ययन सार्वजनिक गरिएको हो ।

सान्सी प्रान्तको ड्याटोङ सहरमा अवस्थित याङ्जियाओ गाउँलाई आर्थिक रूपमा गरिब गाउँ भनेर चिनिन्छ । हिजोआज त्यहाँका स्थानीय बासिन्दा आफ्ना उद्योगहरू डिजिटल प्रविधिसँग जोड्न थालेका छन् । उनीहरूले डेरी खेती, दूध प्रशोधन र विशेष फ्लोरिकल्चरमा अहिले स्मार्ट उपकरण प्रयोग गर्न थालेका छन् । उनीहरूका लागि स्मार्टफोन र इन्टरनेट ‘नयाँ खेती औजार’ बनेको छ भने उत्पादन बेच्नका लागि लाइभ स्ट्रिमिङ ‘खेती बढाउने उपाय’ भएको छ । यसले गाउँको समृद्धि तथा समुदायको आर्थिक विकासमा समेत टेवा पुर्‍याउन मद्दत गरेको छ । 

यस्तै एक दशकअघि स्थापना भएको ‘एमवाइ बैङ्क’ चीनको पहिलो निजी बैङ्क हो । यसले ‘बिग स्प्यारो’ स्याटेलाइट रिमोट सेन्सिङ नामक जोखिम नियन्त्रण प्रणालीको विकास गरेको छ । ‘बिग स्प्यारो’ ले खेती गरेर जीविकोपार्जन गर्ने किसानका लागि बैङ्कमा ऋण लिन सहज बनाएको छ । यसका साथै यस परियोजनाले फलफूल, तरकारी र चिया जस्ता विभिन्न बालीका लागि जोखिम नियन्त्रण मोडेल सिर्जना गरेको छ । तिब्बत, सिनजियाङ र छिङहाइलगायतका प्रान्तमा यस परियोजनाले १.७८ मिलियन किसानलाई अनलाइन कर्जा लिन मद्दतसमेत पुर्‍याएको छ ।

तिब्बतमा अवस्थित चाइना मोबाइलले डिङ्ग्री काउन्टीमा पहिलो ‘डिजिटल ग्रामीण एकीकृत प्लेटफर्म’ स्थापना गरेको हो । किओन्ग्ना गाउँ, सिझोङ टाउनसिपमा रहेको यस प्लेटफर्मले स्थानीय खेतीपाती र गोठाला समुदायलाई थप सुविधा उपलब्ध गराएको छ । लन्काओ काउन्टी र हेनान प्रान्तमा कुल नौ लाख ३५ हजार एकड उच्च स्तरको कृषि भूमि इन्टरनेट अफ थिङ्ग्स, बिग डाटा, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल ट्विन टेक्नोलोजी जस्ता नयाँ पुस्ताका सूचना प्रविधिको प्रयोग गरेर विकास भएको छ । यसले कृषि र डिजिटल व्यवस्थापनलाई सक्षम बनाउने, मलसँग मौसमी ढाँचा मिलाउने, कीट र रोग नियन्त्रण गर्ने क्षमताको विकास गराउने काम गर्दछ । यस प्रविधिको प्रयोगले पहिले स्थानीय बासिन्दाले केही सय एकडमा मात्रै व्यवस्थापन गर्न सकेका थिए भने अहिले आठ सय एकडसम्म व्यवस्थापन गर्न सकेका छन् ।

यसै गरी नेपालले ग्रामीण क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगसँगै चीनसँगको सहकार्यसमेत बलियो बनाउन सक्ने अनुमान छ । नेपालमा स्मार्ट कृषि व्यवस्थापन गर्ने हो भने आवश्यकता अनुसार कृषि डिजिटल प्रविधिको विकास गर्न चिनियाँ अनुसन्धान संस्थासँगको सहकार्यबाट फाइदा लिएर अगाडि बढ्न सकिन्छ । यसरी चीनमा नेपाली विद्यार्थीले प्राविधिक विषय पढ्ने अवसरसमेत प्राप्त गर्न सक्छन् ।    

Author

ज्यान छुन