• ९ कात्तिक २०८२, आइतबार

नवलपुरमा पोथी गैँडा मृत फेला

blog

मृत भेटिएको गैँडा । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, कात्तिक ९ गते ।
नवलपुरको देवचुलीमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली–१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।

सूचना अधिकारी थापाका अनुसार बिगत ६/७ वर्षदेखि आँपको बगैँचालाई बासस्थान बनाउँदै आएको उक्त गैँडा केही समयदेखि बिरामी थियो । बिरामी र बूढो रहेको उक्त गैँडालाई यसअघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैँचामा आएर उपचार गरेका थिए ।

मृत फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको थापाले बताउनुभयो । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा साउन यता ५ वटा गैँडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैँडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।