गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ९ गते । गुल्मीको सत्यवती गाउँपालिका–३, ठुलोलुम्पेकमा प्रख्यात सत्यवती मन्दिर छ । भक्तजनले चिच्याएर वर माग्ने प्रचलन सत्यवती मन्दिरमा छ । सो सत्यवती क्षेत्रलाई सरकारले एक सय पर्यटकीय गन्तव्यका रूपमा समेत घोषणा गरेको थियो । गुराँसले ढाकिएको सो क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने हिसाबले २१ जना कलाकार चित्र र मूर्ति बनाउन तल्लीन छन् ।
सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार गाउँमा सडक खन्दा केही गुराँसका बोट मासिए । तिनै गुराँसका ठुटामा सुन्दर कला निर्माण गरी पर्यटकलाई देखाउने उद्देश्यले १० दिने कला कार्यशाला गरिएको हो । सत्यवती क्षेत्रमा आयोजित कला कार्यशालामा सत्यवती गाउँपालिकाकै बढीजसो चित्रकार र मूर्तिकारको सहभागिता रहेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा सो कार्यशाला भइरहेको छ । सो क्षेत्रबाट माछापुच्छ«े र अन्नपूर्ण प्रस्ट देखिन्छ । ठुलोलुम्पेक सत्यवती पर्यटन क्षेत्रमा लालीगुराँसको काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला कात्तिक १ गतेबाट सुरु भएको हो ।
उहाँका अनुसार कार्यशाला स्थलमा अवलोकनका लागि स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय आउने क्रम बढ्दो छ । कार्यशालामा आदिवासी संस्कृति र सत्यवतीको किंवदन्ती झल्किने आकर्षक मूर्तिहरू बनाइएको छ ।
सत्यवती गाउँपालिकाले सो कार्यशालाका लागि चार लाख विनियोजन गरेको थियो । ल्हुम्पेक सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित ल्हुम्पेक कला साहित्य यात्रामा ललितकला प्रज्ञा–प्रतिष्ठानले समन्वय गरिरहेको छ ।
कार्यशालामा निर्मित चित्र र मूर्तिलाई सो क्षेत्रमा रहेका सुरक्षित टहरामा राखिने र पछि पार्कको विकास गरी पर्यटकलाई देखाइने योजना गाउँपालिकाको छ । प्राज्ञ एवं मूर्तिकार दिनेश्वर महतोले कला क्षेत्रलाई अघि बढाउन स्थानीय सरकारले थप योजना बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।
कार्यशालाको अवधिमा कात्तिक ६ र ७ गते सत्यवती गाउँपालिकाका पुरातात्त्विक र पर्यटकीय क्षेत्र भार्से देउराली, गोर्खा ग्यालेरी, रुद्रवेणीस्थित राममन्दिर, गुलम्दीस्थित शिला, सेती नाग, गाग्रीढुङ्गा, हचिङ्कोटस्थित भुरेटाकुरे दरबारको भग्नावशेष क्षेत्रलगायत विभिन्न महत्वपूर्ण स्थानको अवलोकन गराइएको थियो ।
कार्यशालामा भुवन थापा ‘बहुवि’, नरेन्द्र भण्डारी, यमबहादुर थापा, गोविन्द चौधरी, दिनेश्वर महतो, हरि बयम्बू, विशाल सारूमगर, बेनु थापामगर, श्याम प्रजापति, शान्त राहादी, प्रितम राना, पुजन खतिवडा, गमदेव तरामू, नीलम राहादी, देवीराम राहादी, जय पुलामी, सुमित्रा राना, सुजाना श्रीस, यमबङ, अजय नेपाली, रिमा मिधुनलगायतको सहभागिता रहेको छ ।