• १२ कात्तिक २०८१, सोमबार

विस्फोटक पदार्थ आयातमा सहजीकरणको सरकारी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । परराष्ट्रमन्त्री डा. आरजु राणाले जलविद्युत् आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयात र विद्युत् निर्यातमा सहजीकरण गर्ने बताउनुभएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँग बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री राणाले जलविद्युत् आयोजनामा अत्यावश्यक विस्फोटक पदार्थ आयात सहज बनाउन आफ्नोतर्फबाट शतप्रतिशत प्रयास हुने बताउनुभएको इप्पानले जनाएको छ । 

विदेशी नियोगका मानिससँग भेट्दा नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न धेरै नै चासो देखाएको भन्दै मन्त्री राणाले यी विषय सम्बोधनका लागि इकोनोमिक डिप्लोमेसी शाखा नै स्थापना गर्ने योजनामा परराष्ट्र मन्त्रालय रहेको पनि जानकारी दिनुभयो । 

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले विस्फोटक पदार्थको आयात असहज हुँदा आयोजनाको लागत बढ्नुका साथै समयमा निर्माण सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई पेनाल्टी तिर्नुपर्ने अवस्था रहेको जानकारी गराउनुभएको थियो ।

अहिलेकै गतिमा आयोजना बन्दै गएमा १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा नहुनुका साथै १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने लक्ष्य पनि पूरा नहुने धारणा राख्नुभयो । 

उहाँले यो परिमाणमा विद्युत् उत्पादन गर्न ठुलो लगानीको खाँचो रहेकाले विदेशी लगानी भित्र्याउनका लागि पनि विदेशी निकायसँग सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

भेटमा इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालमा विस्फोटक पदार्थ आयोजनाका नाममा नेपाल आइसकेपछि नेपाली सेनाकै रोहवरमा ओसारपसार, भण्डारण र उपयोग हुने बताउनुभएको थियो । इप्पान कार्यसमिति सदस्य भरत पराजुलीले नेपालमा अहिले मासिक चार सय मेट्रिक टन र वर्षमा करिब पाँच हजार मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक पर्ने बताउनुभएको थियो । भारतबाट सहज रूपमा विस्फोटक पदार्थ नआउँदा निर्माणाधीन १८३ वटा आयोजनामध्ये १२० वटा आयोजना प्रभावित भइरहेका इप्पानले जनाएको छ । भारतले पछिल्लो दुई वर्षदेखि अति कम मात्रामा मात्रै विस्फोटक पदार्थ आयातको अनुमति दिइरहेको छ ।