• १२ कात्तिक २०८१, सोमबार

आन्दोलनले सहकारीपीडित त्रसित

blog

प्रदर्शनमा सहभागी सहकारीपीडितहरू ।

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ९ गते । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् । देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार प्रदर्शन गरेपछि उनीहरूलाई अनुसन्धान प्रभावित हुने र बचत फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ । 

त्यति मात्र होइन रास्वपा नेता, कार्यकर्ताले घरदैलो गरी सहकारीपीडितहरूलाई अप्रत्यक्ष रूपमा धम्क्याएको सङ्घर्ष समितिले जनाएको छ । सूर्यदर्शनमा बचतकर्ता र सेयरधनी गरी १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको छ । सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ मर्कामा परेका जनताका पक्षमा बोल्नुपर्ने राष्ट्रिय दल नै अनुसन्धान प्रभावित पार्ने गरी आन्दोलनमा उत्रिँदा पीडितहरू दुखित र त्रसित बनेको उल्लेख गर्नुहुन्छ ।

“यसै त हामी सर्वसाधारण हौँ, त्यसमाथि सहकारीमा सर्वस्व गुमाएका छौँ,” उहाँ भन्नुहुन्छ, “यो बेला देशका राजनीतिक दलहरूले हाम्रो न्यायका लागि बोल्नुपर्नेमा अनुसन्धानमा ल्याइएका व्यक्तिलाई छाड्न दबाब दिएर प्रदर्शन गर्दा हामी दुःखी छौँ, त्रसित पनि छौँ ।” सूर्यदर्शन सहकारी ठगीमा जोडिएर पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ परेको भोलिपल्टबाटै रास्वपाले पोखरामा प्रदर्शन गरिरहेको छ । 

रास्वपा नेता, कार्यकर्ताले पीडित बचतकर्ताको घरघरै पुगेर प्रलोभन दिने, अप्रत्यक्ष धम्क्याउनेसमेत गरेको पीडितहरू बताउँछन् । बिहीबार पोखराको मुस्ताङचोकमा जम्मा भएका सहकारीपीडितहरू आफूहरूको आन्दोलन कसैका विरुद्ध नभएको जनाउँदै बचत फिर्ता र न्यायका लागि भएको बताउँदै थिए । उसो त लामिछाने गृहमन्त्री भएकै बेलामा पनि सहकारीपीडितहरूले ज्ञापनपत्र बुझाउनेदेखि बेला बेलामा भेटेर न्यायका लागि याचना गरेका थिए । 

सूर्यदर्शनमा श्रीमान्को १३ वर्ष विदेशमा गरेको कमाइ डुबेपछि विक्षिप्त बन्नुभएकी भगवती मगरलाई अझै बचत फिर्ता पाउने आशा छ । जीवनभरको कमाइ सहकारीमा डुबेसँगै श्रीमान् वीरबहादुरको हृदयाघातबाट मृत्यु भएपछि उहाँ बेसाहारा बन्नुभएको छ । “श्रीमान्लाई सहकारीले नै खायो, म जसोतसो बाँचेकी छु । बचत फिर्ता पाए छोराछोरी पाल्न सजिलो हुने थियो,” उहाँले भन्नुभयो । सूर्यदर्शन सहकारीले योजनाबद्ध रूपमा रकम ठग्ने गरी बचत सङ्कलन गरेको देखिन्छ । 

करिब दुई हजार पाँच सय सेयर सदस्य रहेको सूर्यदर्शनका बचतकर्ता साढे १८ हजार छन् । गैरसदस्य कारोबार मात्र होइन, ठुलो रकम बचत गर्न लगाउने कर्मचारीलाई उपहारसमेत यसले दिने गरेको थियो । यसैको सिकार बन्नुभयो पोखरा–३, नदीपुरका सानुकाजी बजिमय । राम्रो ब्याज आउने आश्वासनमा उहाँको परिवारको मात्र एक करोडभन्दा बढी रकम यसमा फसेको छ । 

साना व्यापार व्यवसाय गर्नेहरूदेखि घरघडेरी किन्न चाहने र जग्गाजमिन बेचेर रकम राख्नेहरूको अहिले कन्तबिजोग भएको छ । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन् । 

२०६३ मा स्थापना भएको सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ । यही ठगी प्रकरण र सङ्गठित अपराधमा पूर्वगृहमन्त्री लामिछानेमाथि अहिले अनुसन्धान जारी छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेल न्यायालयमा पुगेको विषयलाई प्रभावित गर्न राजनीतिक दलले लगातार दबाब दिनु अनुचित भएको उल्लेख गर्नुहुन्छ । “यो कदम गलत छ । सरकारको विरोधै गर्ने भए अरू तरिका छन् । नागरिकलाई दुःख दिने, अनुसन्धानलाई प्रभावित गर्ने काम शोभनीय भएन । 

लगातारको प्रदर्शनले पर्यटन राजधानीको जनजीवन प्रभावित बनेको छ । यसले पर्यटकीय मौसमको बुकिङ रद्द हुने चिन्ता छ पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठलाई । “यत्रो रकम अपचलनको कुरा छ । अनुसन्धानकै क्रममा प्रदर्शन गरी दबाब दिनु राजनीतिक संस्कार होइन,” उहाँ भन्नुहुन्छ । 

रुपन्देहीमा पनि पक्राउ अनुमति  

यसैबिच भैरहवा समाचारदाताका अनुसार लामिछाने र जोशीलाई सङ्गठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ । बिहीबार लामिछाने र जोशीसहित १२ जनालाई पक्राउ गरी सङ्गठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने, पूर्वडिआइजी जोशीसहित १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अनुमति दिएको अदालतले जनाएको छ । अदालतको पक्राउ अनुमतिसँगै रवि लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।