• १० मंसिर २०८१, सोमबार

झापा ११ बेलबारी गोल्डकपको फाइनल प्रवेश

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ८ गते। झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुटवल लुम्बिनी फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै झापा-११ फाइनलमा प्रवेश गरेको हो। झापाको जितका लागि दुवै गोल आशिष् चापागाईँले गर्नुभयो। २८ औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका लागि पहिलो गोल गर्नुभयो। 

७५ औँ मिनेटमा बुटवल लुम्बिनी फुटबल क्लबका रक्षापंक्तिका खेलाडी एन.मेन्डी इवोसिइको आफ्नै डिबक्स भित्र हेन्ड भयो। हेन्ड भएपछि पेनाल्टी प्रहार अवसर पाएको झापाले पेनाल्टी मार्फत सुन्दर गोल गर्‍यो। झापाका लागि दोस्रो गोल पनि आशिष् चापागाईँले गर्नुभयो। 

खेलको ८९ औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो। एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार ब्योहोर्दै खेलबाट बाहिरियो। 

दुई गोल गर्ने  आशिष् आजको खेलमा म्यान अफ द म्याच घोषित हुनुभयो। चापागाईँलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद पाँच हजार सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो।  

शुक्रबार दोस्रो सेमिफाइनल खेल काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहा बिच हुनेछ।