• १० मंसिर २०८१, सोमबार

लोपोन्मुख सिमल कटान गर्ने तीन पक्राउ

blog

लोपोन्मुख अवस्थामा रहेको जङ्गली सिमल गौशाला ८ लिखटोलबाट बरामद गर्दै वन कर्मचारी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, कात्तिक ८ गते । लोपोन्मुख अवस्थामा रहेको जङ्गली सिमलको रुख कटान गरिरहेको अवस्थामा वन कर्मचारीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौशाला ५ इटाटारका ५३ वर्षीय नरवीर भन्ने नन्दलाल विश्वकर्मा, गौशला १ रामनगर फूल चोकका ४२ वर्षे मनोजकुमार साह र गौशाला ४ रजखोरका ३१ वर्षीय जीवन सहनी रहेको माइस्थानस्थित सव डिभिजन वन कार्यालयले जनाएको छ । 

पक्राउ परेकामध्ये साह काठ ठेकेदार तथा विश्वकर्मा र सहनी ज्यालादारीमा काम गर्ने मजदुर भएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ । वन गस्तीले गौशाला नगरपालिका ८ लिख टोलबाट उनीहरुले अवैध रुपमा कटान गरेको २५० क्युबिक फिट बराबरको १४ थान सिमलका काठ र नम्बर प्लेट स्पष्ट नभएको एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ । 

लोपोन्मुख सिमल कटान गरिरहेको सूचनाको आधारमा सब डिभिजन वन प्रमुख कृष्णकुमार पटेल तथा सशस्त्र वन रक्षक कमाण्डर अवतार लामाको नेतृत्वमा दलबलसहित बुधबार (हिजो) करिब ५ बजेतिर घटनास्थल पुगेको वन कर्मचारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।  

वनको सुरक्षा नियन्त्रणमा रहेका काठ ठेकेदार साहले आफूले नम्बरी आवादीको रुख भएको विश्वासमा परेर लिख टोलका एकजना जग्गाधनीसँग ३९ हजारमा सिमलको रुख खरिद गरेको बताउनुभयो । 

डिभिजन वन अधिकृत (डिएफओ) डिभिजन वन अधिकृत अजयकुमार मिश्रले सिमलको रुख लोपोन्मुख प्रजातिमा पर्ने भएकोले वनको इजाजत नलिई नम्बरी आवादीमै भए पनि काटन पाइँदैन । 

अग्लो प्रजातिको जङ्गली सिमल गिद्ध, चील, सारस, गडुल, सुगा, मैना, लाटोकोसेरो, वन माहुरी (घारे) लगायतका दुर्लभ पन्छी र अन्य जीवका वासस्थान भएकोले यसको संरक्षण प्राथमिकतामा रहेको मिश्रले बताउनुभयो ।