• १९ पुस २०८१, शुक्रबार

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जाँदै

blog

कोलकाता, कात्तिक ८ गते । भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् । 

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्युरोले बताएको छ । मौसम ब्युरोले  हावाको गति १२० किलोमिटर प्रति घण्टाको गतिमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ  ।

शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ । चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।

ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताउनुभएको छ । 

छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताउनु भएको छ । उहाँले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाउनु भएको छ ।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताउनु भएको छ । भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरू बन्द गर्ने जनाएको छ भने कयौँ रेलसेवाहरु स्थगित गरिएका छन् ।

बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू “उच्च सतर्कता’’ का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताउनु भएको छ ।

वैज्ञानिकहरूका अनुसार जीवाश्म इन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् । रासस/एएफपी