• १० मंसिर २०८१, सोमबार

जिससद्वारा दश व्यक्तित्व सम्मानित

blog

पूर्वमन्त्री योगेशकुमार भट्टराईबाट सम्मान ग्रहण गर्नुहुँदै पत्रकार खगेन्द्र अधिकारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ८ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । आठौं जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रमको अवसरमा बुधबार जिससले १० जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्वअध्यक्ष स्थानीय उज्यालो पोष्ट दैनिक पत्रिकाका सम्पादक खगेन्द्र अधिकारी रहनुभएको छ । यस्तै भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राई, लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) युवराज गिरी, जिल्ला समन्वय समितिका असिस्टेन्ट सब–इञ्जिनियर प्रकाश गुरुङ सम्मानित हुनुभएको छ । 

साहित्य क्षेत्रमा योगदान पु र्‍याउने उदीयमान कवि लेकाली कान्छा ‘मुक्कुम’, ताप्लेजुङ जिल्ला अस्पतालको मातृशिशु स्याहार क्षेत्रमा कार्यरत अनमी मनकुमारी कार्की सम्मानित हुनुभएको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्दै आउनुभएकी फुङ्लिङ नगरपालिका–६ की कुमारी गुरुङ, लामो समयसम्म जनप्रतिनिधि बनेर सेवा गर्ने १०२ वर्षीय अग्रज व्यक्ति लक्ष्मीप्रसाद पौडेल पनि सम्मानित हुनुभएको छ ।

अन्य सम्मानित हुनेमा जिल्ला अस्पतालको ड्रेसिङ फाँटमा कार्यरत चन्द्रबहादुर गुरुङ र कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी पुरस्कार जित्न सफल कञ्चनजङ्घा आवासीय माध्यमिक विद्यालय फुङ्लिङकी छात्रा अञ्जना भट्टराई रहनुभएको छ । यसैगरी जिल्लाका नौ स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा उत्कृष्ट अङ्क ल्याउने मैवाखोला गाउँपालिका र वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गर्ने सिरिजङ्घा गाउँपालिकालाई जिससले पुरस्कृत गरेको छ ।

सम्मान तथा पुरस्कृत हुनेलाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंङ हाङ्गाम लगायतले दोसल्ला र कदरपत्र वितरण गर्नुभएको थियो । विभिन्न क्षेत्रअन्तर्गत सक्रिय भई आफ्नो जिम्मेवारी निर्वाह गर्ने तथा समाजमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । बुधबार सुरु भएको जिल्ला सभा तथा समीक्षा गोष्ठी आज सकिने जिल्ला समन्वय समितिले जनाएको छ ।