• १० मंसिर २०८१, सोमबार

विवाह गर्ने उमेर नपुग्दै आमा

blog

म्याग्दी समाचारदाता

म्याग्दी, कात्तिक ८ गते । नेपालको पछिल्लो कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने भन्ने कल्पना पनि गरेको छैन । मुलुकी अपराधसंहिता २०७४ मा २० वर्षभन्दा कम उमेरमा गरेको विवाह स्वतः बदर हुने उल्लेख छ तर म्याग्दी जिल्लाभित्र गत आर्थिक वर्षमा मात्रै १३२ जना २० वर्षभन्दा कम उमेरका युवती आमा भएका छन् ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुर अन्तर्गतको दफा १७३ मा ‘बालविवाह गर्न नहुने’ भन्ने व्यवस्था उल्लेख भए पनि म्याग्दी जिल्लाभित्र सुत्केरी हुने २० वर्षभन्दा कम उमेरका युवतीको सङ्ख्या नै १३२ रहेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । कानुनले वर्जित गरेको २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम जिल्लाभित्र सुत्केरी भएका महिलाको अवस्थाले नरोकिएको देखाउँछ । जिल्लामा रहेका छ वटै स्थानीय तहमा २० वर्षभन्दा कम उमेरका आमा भएको तथ्याङ्कले देखाउने सूचना अधिकारी सुवेदीको भनाइ छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीका अनुसार गत आव २०८०/८१ को तथ्याङ्क अनुसार जिल्लामा १३२ महिलाले २० वर्षभन्दा कम उमेरमा नै बच्चा जन्माएका छन् । २० वर्षमुनिको उमेरमा विवाह भएको भन्दै उजुरी दिने वा कानुनी व्यवस्थाबारे चासोका साथ कुराकानी हुने गरेको देखिएको छैन । अवस्था हेर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने नरहेको जस्तो देखिएको भए पनि १३२ किशोरीले २० वर्षमुनि नै सुत्केरी हुनुले जिल्लामा कानुनको पालना भए/नभएकोबारे पनि सोच्नुपर्ने देखिएको छ । 

त्यस्तै आव २०७९/८० मा एक हजार १९३ जना २० वर्षमाथिका महिला सुत्केरी हुँदा १८८ जना २० वर्षमुनिका युवती सुत्केरी भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा समग्र सुत्केरी हुनेको सङ्ख्या नै कम भएकाले २० वर्षमुनिका सुत्केरी हुनेको सङ्ख्या घटेको देखिए पनि यो समस्या समाधान हुन निकै समय लाग्ने जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।