• १० मंसिर २०८१, सोमबार

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

blog

गणेश खनाल

अर्घाखाँची, कात्तिक ८ गते ।  प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिनु भएको छ । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली काँग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुनुहुन्छ । 

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, काँग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्नु भएको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली काँग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो ।