• ११ मंसिर २०८१, मङ्गलबार

झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति

blog

बाढीपहिरोबाट बगरमा परिणत भएको सुनकोशी–१, दुम्जाफाँट ।तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, कात्तिक ८ गते । सिन्धुली जिल्लामा असोज महिनाको दोस्रो साता आएको बाढीपहिरोबाट झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति पुगेको छ ।

तीन दिनसम्मको अविरल वर्षापछि जिल्लाका सुनकोशी नदी, रोसी खोला, मरिण खोला, बागमती नदी एवं विभिन्न खोलानालामा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले जमिन कटान र पुरेर कृषि बालीमा क्षति पुगेको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

सुनकोशी र रोसी खोलामा आएको बाढीले सबैभन्दा बढी सुनकोशी गाउँपालिकामा धान बाली क्षति गरेको छ । काटेर घरमा भिœयाउने बेला भएको धानबाली बाढीपहिरोको चपेटामा परी क्षति हँुदा किसान मारमा परेका छन् ।

सुनकोशी गाउँपालिका–१, नेपालथोकका ७३ वर्षीय किसान भीमबहादुर तामाङ धान बाली पाकेको खेतमा अहिले रोसी खोला हिँडिरहेको गुनासो गर्नुहुन्छ । “वर्ष दिनसम्म खाने धान बाली, हेर्दाहेर्दै रोसी खोलाले खायो,” उहाँले भन्नुभयो, “दैव नै लागेपछि के गर्नु ? लोभ लाग्दो दुम्जाको धान खेती गर्ने फाँट अहिले बगरमा परिणत भएको छ । खेत हेरेर भक्कानिनुको विकल्प छैन ।”

रोसी खोलामा २०२८ सालपछि सबैभन्दा ठुलो बाढी यो वर्ष आएको र रोसी खोलाले बाढीसँगै धार परिवर्तन गर्दा दुम्जा फाँट बगेर बगरमा परिणत भएको उहाँले सुनाउनुभयो । त्यस्तै सुनकोशी नदीको तटीय क्षेत्रमा रहेको सुनकोशी गाउँपालिकामा ५१३ हेक्टर, गोलन्जोर गाउँपालिकामा ४० हेक्टर र फिक्कल गाउँपालिकामा ३५ हेक्टर धान खेत बगरमा परिणत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख अरुण खनालका अनुसार बागमती नदीको तटीय क्षेत्रमा रहेको हरिहरपुरगढी गाउँपालिकामा २४५ हेक्टर  धान खेत नदी कटान तथा डुबानमा परी बगरमा परिणत भएको छ । बाढीपहिरोले जिल्लामा ८५४ हेक्टरमा गरिएको धान बालीमा क्षति पुगेको छ । ३.८० हेक्टरमा गरिएको तरकारी खेती, अदुवा एक रोपनी, फलफूल खेती १२ रोपनी र टनेल २२ वटा क्षति पुगेको छ ।

जिल्लामा यो वर्ष ११ हजार १८८ हेक्टर जमिनमा धान खेती गरिएको र बाढीपहिरोका कारण धान बाली क्षति हुँदा उत्पादन घट्ने अनुमान उहाँको छ । सबैभन्दा बढी जिल्लाको सुनकोशी गाउँपालिकामा अन्नबाली क्षति भएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये सात वटा गाउँपालिका बाढीपहिरोबाट प्रभावित भएको कार्यालयले जनाएको छ ।